सत्तारुढ दलद्धारा २६ जना सभासद मनोनयनको विषयमा छलफल
Admin / 2014-08-26 08:04:33
नेपाल ब्युरो– भदौ १०, काठमाडौ ।
सत्तारुढ दलले २६ जना सभासद मोनयनको विषयमा कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले २६ जना सभासद मनोनयनको विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज महान्यायाधिवक्ता बाबुराम कुँवर, नेपाल बार एशोसियशनका अध्यक्ष हरिकृष्ण कार्की र अन्य कानून व्यवसायीहरुसँग छलफल भएको हो ।
सभासद् मनोनयनका विषयमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेका कारण मुद्धा विचाराधिन रहेको अवस्थामा मनोनयनको निर्णय गर्न हुने नहुने बारेमा सत्तारुढ दलहरुले कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् ।
नेपाल सरकारका कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता कुँवर र अन्य कानून व्यवसायीहरुले मुद्धा विचाराधिन रहेपनि सभासद्को मनोनयन गर्न कानूनी रुपले कुनै व्यवधान नरहेको बताएका छन् ।
कानून व्यवसायीहरुले सर्वोच्चको फैसला अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेद्वार बनेकाहरुलाई सभासदमा मनोनयन नगर्न सुझाव दिएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
सर्वोच्चले केहि महिना पहिले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेकाहरुमध्येबाट सभासद् मनोनयन गर्न आदेश दिएको थियो । संविधानसभाको पहिलो बैठक बसेको सात महिना वितिसक्दा पछि सरकारले २६ जना सभासद्को मनोनयन गर्न सकेको छैन ।
प्रकाशित मिति: 2014-08-26 08:04:33
प्रतिक्रिया: