नेपालमा डिभिजन थ्री क्रिकेट प्रतियोगिता गर्ने तयारी
Admin / 2014-08-24 03:10:12
नेपाल ब्युरो– भदौ ८, काठमाडौ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको छ ।
अफ्रिकी महादेशमा इबोला भाइरसको संक्रमण बढेकाले आगामी कात्तिकमा युगाण्डामा गर्न लागेको प्रतियोगीताको तयारी नेपालमा गर्न लागेको हो ।
अहिले नेपाल क्रिकेट संघ क्यानलाई मैदान तयार गर्न निर्देशन दिएको आइसिसीले यसको आधिकारिक निर्णय भने आफै आएर अध्ययन गरेपछि मात्र गर्ने बताइएको छ । डिभिजन थ्री प्रतियोगिता आयोजना गर्न पाउने देश नेपाल र युगाण्डामध्ये आइसिसीले नेपालको पूर्वाधार राम्रो नभएको भन्दै युगाण्डामा गर्ने निर्णय गरेको थियो ।
नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष केशव घिमिरेले आइसिसीले तीनवटा मैदान तयार गर्न आग्रह गरेको बताउँदै डिभिजन थ्री प्रतियोगिताकै लागि हो वा होइन भन्ने प्रष्ट नभएको जानकारी दिनुभयो । तीनवटा मैदानको तयारी गर्न भनेपनि क्यानले अहिले कितिर्पुर, पुल्चोक इन्जिनियरिङ मैदान, भक्तपुर र पोखराको मैदानको तयारी गरिरहेको छ । यी मैदानमा धमाधम घाँस काट्ने र सफा गर्ने काम भइरहेको घिमिरेले बताउनुभयो ।
मैदान र क्यानको व्यवस्थापकीय अवस्था अध्ययन गर्न भदौ १२ गते एसिसी र भदौ १८ गते आइसिसीको टोली नेपाल आउँदैछ । उनीहरुले यहाँको अवस्था अध्ययन गरेपछि प्रतियोगिता नेपालमा गर्ने या नगर्ने भन्ने टुंगो लाग्नेछ ।
आइसिसीले डिभिजन थ्री क्रिकेट प्रतियोगिता आउँदो कात्तिक ९ गतेदेखि युगाण्डामा गर्ने तय गरेको थियो ।
प्रकाशित मिति: 2014-08-24 03:10:12
प्रतिक्रिया: