पुष्प व्यवसाय प्रवर्दनका लागि चार करोड रुपैयाँ विनियोजन
Admin / 2014-08-20 08:56:23
नेपाल ब्युरो– भदौ ४, काठमाडौ ।
यस वर्ष पुष्प व्यवसाय प्रवर्दनका लागि कृषि बिकास मन्त्रालयले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
राजधानीमा आज आयोजित फ्लोरिकल्चर एशोसियसन नेपालको २२ औं साधारण सभामा कृषि अर्थविज्ञ सुनिल कुमार सिंहले फ्लोरिकल्चर क्षेत्रको बिकासका लागि सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको र यस बाहेक पनि सरकारले पुष्प व्यवसायका लागि धेरै काम गर्न बाकी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायका प्रमुख समस्या ,कर, बित्तीय क्षेत्रको लगानी र सरकारी नीतिनियमका अप्ठेराहरु रहेको बताउनुभयो ।
त्यस्तै कृषि विकास मन्त्रालयका सहसचिब तथा प्याक्टका निर्देशक योगेन्द्र कुमार कार्कीले फ्लोरिकल्चरको सम्बन्ध आथिर्क, सामाजिक, साँस्कृतिक,सौन्दर्य तथा स्वास्थ्यसँग जोडिएकोले प्याक्ट मार्फत यो क्षेत्रलाई बिशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । चोभारमा फ्लोरिकल्चरको होलसेल मार्केट बनाउन पहल भइरहेको पनि सोही अवसरमा जानकारी दिइएको छ ।
फ्लोरिकल्चर एशोसियसन नेपालले हरेक बर्ष अन्तर्राष्ट्रिय मेला, गोदावरी मेला र लालुपाते मेलाको आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: 2014-08-20 08:56:23
प्रतिक्रिया: