यातायात व्यवस्था विभागका १६ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर
Admin / 2014-08-19 03:06:49
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । यातायात व्यवस्था विभागका १६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेका छन् ।
आयोगले सवारी चालक अनुमति पत्र कार्यालय बाग्मतीका पूर्व निमित्त प्रमुख रामदत्त भट्ट र सात बिचौलिया सहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै ड्राइभिङ स्कुल संचालन तथा बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेर बहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
सवारी चालक अनुमति पत्र कार्यालय कर्मचारीहरु र बिचौलियाको मिलेमतोमा घूस लिई ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ लाई ड्राइभिङ लाइसेन्स दिइएको पाइएको छ ।
यस्तै प्रयोगात्मक परीक्षामा फेल भएपछि नियम विपरित ३ महिना अगावै पुनः प्रयोगात्मक परीक्षामा सहभागी गराई ५७३ लाई अनियमित तरिकाबाट कार्यालयको ढड्डा तथा कम्प्युटर अभिलेख सच्याई सवारी चालक अनुमति पत्र जारी गरेको अख्तियारको आरोप छ ।
प्रकाशित मिति: 2014-08-19 03:06:49
प्रतिक्रिया: