-बिष्णु तामाङ
काठमाडौं, १ भदौ
‘तामाङ मिडिया अवार्ड–२०७१’बाट पत्रकारद्वय जीवन लामा र रोजिना दोङ
सम्मानित भएका छन् । तामाङ सञ्चार समूहले २०औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित
कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित लामा कालिञ्चोक एफएम दोलखाका स्टेशन
म्यानेजर र दोङ सगरमाथा टेलिभिजनका कार्यक्रम प्रस्तोता/दृष्य सम्पादक हुन् । नेपाल
पत्रकार महासंघका महासचिव उजिर मगरले अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै महासचिव मगरले समावेशी
सञ्चारको लागि सशक्त रुपमा आवाज उठाउने प्रतिवद्धता जनाए । पछिल्लो समय आदिवासी जनजातिका
मुद्दाहरु सेलाएको भन्दै त्यसलाई व्युँताउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले
बताए । ‘नयाँ संविधानमा हाम्रा मुद्दा लेखाउन कडा
दबाबको खाँचो छ । सही नेतृत्व नहुँदा आदिवासी जनजातिका मुद्दा सेलाएको अवस्था छ ।’ महासचिव
मगरले भने । आदिवासी जनजाति महासंघलगायत विभिन्न जातीय संघ संस्थाहरु र त्यसका नेतृत्वकर्ता
यतिखेर गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जनले पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन घेदुङको अगुवाईमा कार्यक्रम ल्याउने तयारी भैरहेको बताए । जनजाति महासंघको नेतृत्व यस विषयमा गम्भीर नदेखिएको भन्दै उनले अब महासंघको भरमा मात्र नपरी पहिचानको आन्दोलनलाई अगाडि बढाउने बताए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का
अध्यक्ष डण्ड गुरुङले सरकारी तथा नीति सञ्चारगृहहरुमा समावेशी सञ्चार नीति लागु नगरेसम्म
सबै समुदायको सूचनामा पहुँच नपुग्ने बताए । ‘समावेशी
सञ्चार नीति कार्यन्वयन गराउन हामीले सङ्घर्ष गरिरहेका छौं । यसलाई हामी जसरी पनि कार्यन्वयन
गराउँछौं ।’ अध्यक्ष गुरुङले भने । आदिवासी जनजाति आन्दोलनका
मुद्दालाई स्थापित गराउन जनजाति पत्रकारहरुले सक्दो प्रयास गरिरहेको उनले बताए ।
जापानका लागि पूर्व राजदुत डा. गणेश योञ्जनले
तामाङ समुदायको मुद्दा स्थापित गर्ने सवालमा तामाङ सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने
बताए । मुलधारका सञ्चार माध्यममा पहुँच पुग्न नसकेको भन्दै योञ्जनले सञ्चार समूहले
त्यसको लागि पहल गर्नुपर्ने बताए ।
समूहले प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको
अवसरमा क्रियाशिल तामाङ पत्रकारहरुलाई प्रोत्साहित गर्न अवार्ड प्रदान गर्दै आएको समूहका
अध्यक्ष जगत दोङले बताए । ‘२०५१ भदौ १ गते पहिलो पटक तामाङ भाषाको
समाचार रेडियो नेपालबाट प्रसारण भएको थियो । यो नै विद्युतीय सञ्चारमा तामाङ भाषाले
प्रवेश पाएको पहिलो अवसर थियो । यसै दिनलाई हामीले तामाङ प्रसारण दिवसको रुपमा मनाएका
हौ ।’ अध्यक्ष दोङले भने । समूहको देशभर १६ जिल्लामा
शाखा विस्तार भैसकेको अध्यक्ष दोङले जानकारी दिए ।
अवार्डबाट सम्मानित पत्रकार लामाले आफ्नो
समुदायको आवाज सशक्त रुपमा अगाडि ल्याउन आफूले सक्दो प्रयास गरिरहेको बताए । अवार्डबाट
सम्मानित भएकोमा खुशी व्यक्त गर्दै उनले यसबाट आफ्नो काँधमा थप जिम्मेवारी थपिएको बोध
भएको बताए ।
अर्का सम्मानित पत्रकार दोङले आफू निर्णायक
तहमा नहुँदा चाहेअनुरुप समुदायको समाचार सम्प्रेषण गर्न नसकेको भन्दै दुःख व्यक्त गरे
। ‘मेरो समुदायको समाचार सम्प्रेषण गर्न नपाउँदा
धेरै पटक पीडाबोध गरेकी छु ।’ उनले भने ‘अब सञ्चारगृहको निर्णायक तहमा हामी पुग्नुपर्छ
।’
कार्यक्रममा तामाङ सञ्चार कोषका लागि आर्थिक
सहयोग गरेकोमा तामाङ सोसाइटी अफ अमेरिकालाई कदरपत्रद्धारा सम्मानित गरियो । सोसाइटीका
पूर्वअध्यक्ष इन्द्र तामाङले कदरपत्र ग्रहण गरेका थिए । अध्यक्ष दोङका अनुसार सोसाइटीले
कोषका लागि १ लाख ८ हजार २४० रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै पत्रकार चुनबहादुर गुरुङको उपचारको
लागि समूहले १५ हजार ५ सय रुपैँया सहयोग गरेको छ । सहयोग रकम फोनिजका अध्यक्ष डण्ड
गुरुङलाई हस्तान्तरण गरिएको थियो । समूहको केन्द्रीय कार्यसमिति र जिल्ला शाखाहरुमार्फत
उक्त रकम सङ्कलन गरिएको समूहका अध्यक्ष दोङले जानकारी दिए ।
तामाङ सञ्चार कोषबाट पत्रकार प्रतिक तामाङको
परिवारलाई १० हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । पत्रकार तामाङको गत असारमा आमाको
निधन भएकोले कोषबाट सहयोग प्रदान गरिएको समूहले जानकारी दिएको छ ।