एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालको लगातार दोस्रो जित
Admin / 2014-08-15 05:03:56
काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार दोस्रो खेल जितेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शुक्रबार सिंगापुरलाई ४९ रनले पराजित गर्यो।
किनरारा ओवल मैदानमा नेपालको सुरुआत राम्रो थिएन। नेपालले १२ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। तर, कप्तान सुमित महर्जन र प्रनित थापाले नेपाली इनिङ्लाई सम्हाल्दै सम्मानजनक स्कोरमा पुर्याए। नेपालले ८ विकेट गुमाई १ सय ४३ रन बनाउँदा सुमितले ४१ र प्रनितले ३२ रनको योगदान दिए। सिंगापुरका देव्रेहाते बलर अरिमान उचिलले ३ विकेट लिए।
जवाफी ब्याटिङ गर्दै सिंगापुरले १० ओभरमा विना क्षति ३१ रन बनाएको थियो। त्यसपछि ३ ओभरमा ३ विकेट लिँदै खेलमा फर्किएको नेपालले सिंगापुरलाई ३५.२ ओभरमा ९४ रनमै अलआउट गर्यो। अफ स्पिनर पवन सर्राफले १२ रन खर्चेर ४ विकेट लिए। एसिसी यु–१६ एलिट कपको नामले यसअघि २०१० र २०१२ मा आयोजना भएको दुवै प्रतियोगितामा नेपाल उपविजेता रहेको थियो।
शुक्रबारको विजयसँगै नेपालले काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा सिंगापुरसँग पाएको ६८ रनको हारको बदला लिएको छ। २ वर्षअघि मलेसियामै भएको प्रतियोगिताको दोस्रो संस्करणको सेमिफाइनलमा भने नेपालले सिंगापुरलाई १ सय १ रनले पराजित गरेको थियो। नेपालले आइतबार ओमानसँग खेल्ने छ। नेपालले एसिसीमा उमेर समूहमा जित्न नसकेको यो एकमात्र प्रतियोगिता हो। नेपालले बिहीबार थाइल्यान्डलाई १० विकेटले पराजित गरेको थियो।
प्रकाशित मिति: 2014-08-15 05:03:56
प्रतिक्रिया: