अहिलेसम्म ८ जनाको शव फेला परेको छ। जसमा एक बालक,तीन पुरुष र चार महिला छन्। तीन दर्जनभन्दा बढी घाइते भएको छन्। केही घाइेतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।सत्तरी घर बगाएको अनुमान छ। जुरेस्थित एउटा वस्ती नै पुरिएको र दुई दर्जनभन्दा बढी मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको छ।
दुई किलोमिटरसम्मको क्षेत्रमा पानी जमेको छ। सानिमा हाइड्रोको बाँधसम्म क्षेत्र डुबिसकेको छ। अब थुनिएको नदी बाह्रबिसेतर्फ बगिरहेको छ। बाह्रबिसे डुब्ने खतरा रहेको स्थानीयबासीले बताएका छन् । थुनिएको सुनकोशी फुट्दा आउने बाढीले सप्तकोशी क्षेत्रमा ठूलो विनाश ल्याउने खतरा छ। सप्तकोशी क्षेत्रबाट बस्ती हटाउनका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ। कोशी ब्यारेज आसपासको क्षेत्रमा पनि ठूलो सन्त्रास फैलिएको छ।
केन्द्रीय दैवीप्रकोप व्यवस्थापन तथा उद्धार समितिको शनिबार बिहान बसेको बैठकले आसपासको क्षेत्रलाई संकट घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ सुरक्षित ठाउँमा जानका लागि मानिसलाई माइकिङ गरेर सचेत गराइएको छ। बाँध फुटेमा आधा दर्जन जति गाउँ बगाउने खतरा छ।प्रधानमन्त्री सुशील कोइरालाले सुरक्षा अंग तथा सबै सरोकारवाला निकायबीच समन्वय गरेर सावधानीपूर्वक सुरक्षित रुपमा निकास खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार उद्धारको काम प्रभावकारी रुपमा भइरहको छ।नदी थुनिएर पानीको सतह बढ्दै गएपछि ताल बनेको छ। नदीमा पानी थुनिएपछि आसपासका क्षेत्रका बासिन्दाले घर छोडेर ज्यान जोगाउन डाँडातिर भागिरहेका छन्।केही सम्पर्कमा आउन नसकेको स्थानीयले बताएका छन्।जमिनको सहतबाट पानी खोल्न सम्भव नभएकोले हेलिकप्टरबाट ब्लाष्टिङ गरी पानी खोल्ने तयारी भइरहेकाको छ।नदीको निकास खोज्न सेनाका इन्जिनियर र प्राविधिकसहितको टोली विष्फोटक पदार्थ लिएर हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेको छ। विस्फोट गराएर नदीको निकास खुलाउने तयारी छ।
पहिरो अझै पनि जारी रहेकोले पानी सतह बढ्दै गएको प्रत्यक्षदर्शीले बताएका छन्। नेपाली सेनाको हेलिकोप्टर नदी थुनिएको स्थान निरीक्षण गरेर फर्केको छ। उद्धारका लागि नेपाली सेना, प्रहरीसहितको विशेष टोली खटिएको छ।
अरनि राजमार्ग अवरुद्ध छ। दोलालघाटदेखि उताको यातयात नै ठप्प भएको छ। जोखिमलाई ध्यानमा राखेर मानिसको आगमनमा पनि रोक लगाइएको छ। गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ती जारी गरेर थुनिएको नदी कुनै बेला फुट्नसक्ने भएकोले सुरक्षा र सावधानी अपनाउन सबैमा अपिल गरेको छ। नदीलाई सुरक्षित ढंगले खोल्नका लागि प्रयास भइरहेको जानकारी पनि दिएको छ।
पहिरोले पहाड खस्दा त्यहाँ वरपरका मानिसको भागदौड भइरहेको छ। पहिरोले नदी थुनिएर पानीको सतह बढ्दै गएपछि आसपासका क्षेत्रमा सन्त्रास फैलिएको छ। पहाड खस्दा जुरेबस्ती पुरिएको आशंका गरिएको छ।