ढिस्को खसेर भोटेकोसी थुनियो,एक किलोमिटर क्षेत्र जमेर ताल बन्यो
स्थानिय बसिन्दाको भागाभाग,उद्दारको लागि हेलिकोप्टर जाने
Admin / 2014-08-01 20:39:42
ढिस्को खसेर भोटेकोशी नदी थुनिएको छ। सिन्धुपाल्चोकको पुरानो ब्यापारिक केन्द्र बाह्रबिसेसँग जोडिएको राम्चे-५ स्थित जुरे भन्ने ठाउँबाट ढिस्को खसेर शनिबार बिहान ३ बजेदेखि भोटेकोशी नदी थुनिएको हो। इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले दिएको जानकारी अनुसार यतिबेलासम्म धन्नै एक किलोमिटर क्षेत्र भोटेकोशी नदी जमेर ताल बनेको छ।
घटनाको जनकारीपछि प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क गराएको छ। प्रहरीको चेतावनीपछि बाह्रबिसे, लामोसाँघु, खाडिचौर, सुकुटेलगायत करिब २० किलोमिटर आसपासका बासिन्दाको भागदौड मच्चिएको छ। ज्यान जोगाउन उनीहरु रुवाबासी गर्दै डाँडाँकाँडा चढिरहेका छन्।
प्रहरीले घटनास्थल जुरेका केही घरसमेत बगेको अनुमान गरेको छ। रातिको समय भएकाले घटनासम्बन्धी विस्तृत विवरण थाहा पाउन नसकेको इन्सेपेक्टर रिमालले बताए। त्यस आसपासका पर्यटकलाई भने सुरक्षित स्थानतर्फ लगिएको उनले बताए।
आवश्यक उद्दारका लागि सुरक्षाकर्मीसमेत जानसक्ने अवस्था नभएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट आएको डीएसपी भरत बोहोराको टोली बीचमै रोकिएको छ।
भोटेकोशी र सुनकोशी नदी मिसिसकेपछि नदी थुनिएको हो। रिमालका अनुसार पानी जमेर करिब एक किलोमिटर माथि अरनीको राजमार्गसम्म आइपुगेको छ। सीमा प्रहरी सुरक्षा कार्यालयका एसपी लक्ष्मणबहादुर सिंहले सुरक्षाकर्मीकै भागदौड मच्चिएको बताए।
उनका अनुसार आकास्मिक उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारीमा छन्। घटनास्थलका चार घर बगाएको समेत उनले बताए। 'मानवीय क्षतिको जानकारी थाहा छैन। भौतिक सम्पत्ति जोगाउनसक्ने स्थिति पनि छैन,' उनले भने, 'मान्छेलाई भने सुरक्षित स्थानतर्फ भगाइक्षसकेका छौं।'
यो क्षेत्रमा अविरल वर्षा भएको थियो। अहिले भने थामिएको छ।
प्रकाशित मिति: 2014-08-01 20:39:42
प्रतिक्रिया: