काठमाडौ । अन्तिम संस्कारका लागि १४ औं श्यामर रिन्पोचेको शव भुटानबाट आज काठमाडौ ल्याइएको छ । ड्रुक एयरको चार्टन बिमानबाट दिल्ली हुँदै उनको शव आज दिउँसो काठमाडौ ल्याउँदा त्रिभुवन बिमानस्थलमा हजारौ अनुयायी जम्मा भएका थिए । रिन्पोचेको जेठ २८ गते जर्मनीमा निधन भएको हो । जर्मनीबाट उनको शव भुटान लगिएको थियो ।
मंगलबार बिहानको मन्त्रिपरिषदको बैठकले अनुमति दिने निर्णय गरेलगत्तै रिन्पोचेको शवलाई ल्याइएको हो । उनको शव बिमानस्थलबाट रानीवनस्थित शरमिनाभ गुम्बा लगिएको छ । दुई दिन अन्तिम श्रद्धान्जलीको लागि राखेपछि उनको अन्त्येष्टी गरिने बताइएको छ ।
उनी नेपाली नागरिक नभएको र सुरक्षा कारण भन्दै यसअघिको सरकारले उनको शवलाई नेपाल ल्याउन अनुमति दिएको थिएन् ।
भुटानी प्रधानमन्त्रीले समेत रिन्पोचेको शवलाई काठमाडौ ल्याउने अनुमति दिन नेपाल सरकारलाई पत्र पठाएका थिए । उनको शव ल्याउँदा दलाई लामाको अनुयायीहरुले घुसपैठ गर्न सक्ने र धेरै अनुयायी जम्मा हुँदा सुरक्षा अवस्थामा असर पर्न सक्ने भन्दै सरकाले यसअघि अनुमति नदिए पनि अनुयायीको व्यापक दबाबपछि मंगलबार सरकारले शव ल्याउने अनुमति दिने निर्णय गरेको हो ।
बौद्ध धर्मावलम्बीहरूले उनलाई अमिताभ बुद्धको अवतार मान्छन् । उनी हिमाली तथा तिब्बती बौद्ध परम्पराको कर्म कर्ग्युपा सम्प्रदायका १४ औं श्यामार्पा रिन्पोछे हुन् ।