भारतिय बिदेशमन्त्री सुष्मा स्वराज नेपालमा
नयां सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेको भनाई
Admin / 2014-07-25 12:07:28
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो मुलुकमा हालै गठन भएको नयाँ सरकारको उच्च प्राथमिकतामा नेपाल रहेको बताएकी छन्।
नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठमा भागलिने सिलसिलामा आज साँझ विशेष विमानबाट काठमाडौं आएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नयाँ सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताएकी हुन्।
'विदेशमन्त्री भएपछिको दुई महिनाको अवधिमा पहिलोपटक नेपाल भ्रमणमा आएकी छु, यसले पनि भारत–नेपाल सम्बन्धको महत्वलाई दर्शाउँछ,'– भारतका लागि नेपाल कति महत्वपूर्ण छ र उसले दिएको प्राथमिकताको प्रमाण पनि आफ्नो भ्रमणबाट प्रष्टिएको उल्लेख गर्दै उनले भनिन्।
धेरै आशा र अपेक्षा लिएर आफू भ्रमणमा आएको बताउँदै विदेश मन्त्री स्वराजले त्यसबाट भारत–नेपाल सम्बन्ध अझ सुदृढ एवम् मजबुत हुने विश्वास व्यक्त गरिन्।
विमानस्थलको विशिष्ट कक्षमा भारतीय विदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सोही मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख अमृतबहादुर राई, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, नायब शिष्टाचार महापाल लेखनाथ भट्टराई, शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गेलले स्वागत गरेका थिए।
भारतीय विशिष्ट अतिथिको स्वागतका लागि विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, यहाँस्थित भारतीय दूतावासका उपप्रमुख पीयूष श्रीवास्तव, प्रवक्ता अभयकुमारलगायत उक्त दूतावासका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी विदेशमन्त्रीका साथ विदेश सचिव सुजाथा सिंह, विदेश मन्त्रालयमा आर्थिक सहयोगसम्बन्धी मामिला हेर्ने सचिव सुजाता मेहतालगायत उच्च अधिकारी छन्।
तेइस वर्षपछि आयोगको तेस्रो बैठक शनिबार राजधानीमा हुँदैछ। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हु्न। तीनदिने भ्रमण पूरा गरी आइतबार उनी स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: 2014-07-25 12:07:28
प्रतिक्रिया: