ललितपुर, श्रावण ९ - बजार अनुगमनमा जाने वाणिज्य विभागअन्तर्गतका कर्मचारी र उपभोक्तावादीहरू नै विभिन्न व्यवसायीबाट अवैध रकम लिने गरेको रहस्य खुलेको छ।केही दिनअघि विभागअन्तर्गतको जिल्लास्थित बजार संरक्षण अधिकृतको संयोजकत्वमा अनुगमन गएको टोलीले कैफियत भेटिएका व्यवसायीबाट अवैध रकम लिएको पाइएको हो।
मर्कामा परेका विभिन्न उपभोक्ताले अख्तियारमा उजुरी दिएपछि वाणिज्य अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघको प्रतिनिधि सम्मिलित टोलीले मंगलबजारका विभिन्न पसलको अनुगमन गरेका थिए। त्यसक्रममा वेयर हाउसले खरिद मूल्यभन्दा करिब २ सय प्रतिशत नाफा राखी ३० प्रतिशत छुट दिने गरेको पाइएको थियो। टोलीले उक्त क्षेत्रका पाँच वटा पसलको अनुगमन गरेको थियो। अनुगमन टोलीलाई न्यु फेन्सी र फेन्सी सपका सञ्चालकले खरिद बिल देखाउन सकेनन्। न्यु फेन्सी सपले पार्टी सुजमा दोब्बर मूल्य लिने गरेको भेटिएको थियो। यस्तै फेन्सी सपका सञ्चालकले ३० प्रतिशत छुट दिएर २०५ प्रतिशत बढी मुनाफा लिने गरेको पाइएको थियो। बिलमा ३ सय ६५ रुपैयाँमा खरिद गरेको जिन्स पाइन्टलाई १ हजार १ सय १३ रुपैयाँ लिई बिक्री गरेको भेटिएको थियो। केही पसलले बिनादर्ता आफूखुसी मूल्य राखेर बेच्ने गरेको समेत पाइएको थियो।
नियमअनुसार खरिदमा २० प्रतिशत मुनाफा राखेर सामान बिक्री गर्नुपर्ने हुन्छ। तर पसलले अत्यधिक मुनाफा राखेको पाइएपछि टोलीले कारबाही गर्ने तयारी गरेको थियो। तर पैसाको लेनदेन भएपछि वोयर हाउसमाथि कारबाही नगर्न दबाब आएको थियो।
अनुगमनमा कान्तिपुरकर्मीपनि सँगै थिए। अनुगमनकै क्रममा वेयर हाउसका व्यवसायी सुरज श्रेष्ठले मञ्चका उपाध्यक्ष बाबुराजा महर्जनको सहयोगमा कान्तिपुरकर्मीलाई कुनातिर बोलाएर समाचार नलेखिदिन आग्रह गरेका थिए। अनुगमन सकेर फर्कंदै गर्दा वाणिज्यका अधिकृत रामप्रसाद ज्ञवालीले पनि टेलिफोनमार्फत वेयर हाउसको समाचार रोकिदिन आग्रह गरेका थिए। समाचार लेखिए पनि 'अनुगमन मात्र भएको र अन्य कुरा नलेखिदिन' आग्रह गरेका थिए। समाचार रोक्न नमिल्ने जनाए पछि ज्ञवाली खाममा पैसा बोकेर आएका थिए। सुविधानगरस्थित एक क्याफेमा लगेर उनले 'उभोक्ता मञ्चका जिल्ला उपाध्यक्ष महर्जनले तपाईहरू पत्रकारलाई भनेर केही रकम छुट्याउनु भएको छ, यो लिनु होला' भन्दै खाम दिन खोजेका थिए। खामभित्र ४/५ हजार रुपैयाँ रहेको जानकारीसमेत गराएका थिए। पैसा लिन अस्वीकार गर्दा उनले 'जसरी पनि वेयर हाउसको समाचार चाहिँ रोकिदिन' अनुनय विनय गरेका थिए।
कान्तिपुरकर्मीलाई खाममा राखेर पैसा पठाएको विषयमा बुझ्न खोज्दा मञ्चका उपाध्यक्ष महर्जनले स्वीकार गरे। 'समाचारमा नेदेखाउनुस् न ल,' उनले टेलिफोनमा आग्रह गरेका छन्, 'त्यस्तो केही आपत्ति मान्नु पर्दैन। आउनुस् बसेर कुरा गरौंला।' अनुगमन टोलीले चाहिँ कति भागबन्डा गरेको भनेर राखिएको जिज्ञासमा उनले भने, 'बराबरी मिलाएका हौं।' समाचार रोक्न नमिल्ने बाध्यता सुनाउँदा महर्जनले सबैतिर मिलाइसकेकाले धन्धा नमान्नसमेत आग्रह गरेका छन्। 'तपाई धन्धै नमान्नुस्,' उनले कान्तिपुरसँग सुरक्षित रेकर्डमा भनेका छन्, 'हामीले सबै मिलाइसक्यौं।'
वाणिज्य विभागका महानिर्देशक नारायण बिडारीले पैसा लिएर अनुगमन फितलो पार्ने कर्मचारीलाई कारबाही गर्ने बताए। 'घूस लिएको बारेमा जानकारी भएको छैन,' उनले कान्तिपुरलाई भने, 'पैसा लिएको हो भने कडा कारबाही गर्छौं।'
कान्तिपुर दैनिकबाट