बनेपा- बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती
गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५
लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्।
पछिल्लो समय बोधिचित्तको दाना र माला निकासीमा प्रहरीले 'सहयोग' गरे पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्ने
गरेको छ।
'पैसाका कारण बुद्धचित्त जति आकर्षक छ, बोटमै, टिपेपछि र निकासी गर्दा जोगाउन त्यत्तिकै मुस्किल छ। हिजो प्रहरीले
सास्ती दिन्थे, आज लुटेरा पछि लाग्छन्,' एक किसानले दुखेसो पोखे। 'हरेक रात बोटमुनि सुत्ने
गरेका छौं, लुटेराका सहयोगी पनि बोट हेरेरै भाग माग्न आउन
थालेका छन्।'दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर
पठाइहाल्न खोजेको ती किसानले बताए। बुद्धचित्तको दाना र माला काठमाडौं बौद्ध र
भारत बोधगयासम्म पुग्ने गरेको छ। 'बुद्धचित्तको मुख्य बजार
भनेको बौद्ध हो, त्यहाँ बेच्न नसके तिमालका किसानले भारतको
बोधगयासम्म लगेर बेच्छन्,' बुद्धचित्त पाइने क्षेत्र मेच्छेका बासिन्दा एवं
पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङले भने।
अघिल्लो वर्षसम्म बोधिचित्तको माला र दाना अवैध
रुपमा निकासी गरेको भन्दै सताउने प्रहरीले वन कार्यालयको इजाजत लिने किसानलाई
काभ्रेको नाका कटाउन सुरक्षा दिने गरेको छ। अघिल्लो वर्षसम्म दाना र माला निकासीमा
प्रहरी–प्रशासनको डर थियो। यसको ओसारपसार गर्ने धेरैले
मुद्दा खेप्नुपरेको थियो। यसरी मुद्दा खेप्नेमा अधिकांश काभ्रेका तामाङ समुदायका
थिए। परम्परागत रुपमा खेती गरिँदै आएको र कानुनले प्रतिबन्ध नभनेको अवस्थामा
मुद्दा लगाएको भन्दै नेपाल तामाङ घेदुङलगायत बौद्धमार्गी समुदाय आक्रोसित भएका
थिए।
यतिखेर परिस्थिति फेरिएको छ, प्रहरीले नै सुरक्षा दिएर बुद्धचित्तका दाना र मालालाई काभ्रेको
सीमासम्म कटाइदिन्छ। प्रहरी सुरक्षाका लागि वन कार्यालयबाट निकासी इजाजत
(छोडपूर्जी) आवश्यक हुन्छ।
'वनको इजाजत नभएको बुद्धचित्त चोरीको पनि हुनसक्छ, कुन किसानको उत्पादन हो भनेर यकीन गर्नका लागि वनले दिएको कागजपत्रको
माग गरिएको हो,' काभ्रेका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने।
जिल्ला वन कार्यालयले शिखरअम्बोटे र तिमालका
गाविसलाई बयर प्रजातिको बुद्धचित्त बोट रहेको क्षेत्र (क्लस्टर) मानेको छ।
कार्यालयको अभिलेखअनुसार काभ्रेमा जम्मा ३४ किसानसँग मात्रै बुद्धचित्तको बोट छ।
उनीहरुको बारीका ३ सय ७६ वटा बोटमा बर्सेनि बुद्धचित्तको फल (दाना) फल्छ।
कार्यालयले हालसम्म बयर प्रजातिको बुद्धचित्त फल
संकलनका लागि २८ जना किसानलाई संकलन इजाजत तथा निकासी इजाजतपत्र (छोडपूर्जी) दिएको
छ। यसअनुसार किसानले १ हजार ८ सय २८ किलो बुद्धचित्तका दाना लैजान छोडपूर्जी
लिइसकेका छन्। यसमध्ये ९ सय १५ किलो लैजान बाँकी छ।
वन कार्यालयमा भेटिने बोटधनीहरु खुलेर कुरा गर्न
चाहँदैनन्। कुरा गर्न अघि सर्ने किसानसमेत नाम उल्लेख नगर्ने सर्तमा कुरा गर्छन्।
वन कार्यालयमा भेटिएका किसानले वनको प्रक्रिया झन्झटिलो भएको बताएका छन्। बोटधनी
किसानले बुद्धचित्त संकलनदेखि निकासी इजाजतपत्र पाउन्जेलसम्म कम्तीमा ७ देखि १५
दिन जिल्ला वन, इलाका वन र नापी कार्यालय चहार्नुपर्ने हुन्छ।
'हामीले कुन किसानको,
कहाँ र कति परिमाणमा
बुद्धचित फलेको हो, त्यसलाई प्रमाणित गर्ने प्रणाली विकास गर्न खोजेका
हौं। केही समय लाग्छ, यसबाट किसानलाई फाइदा हुने भएकाले झन्झट मानिदिनु
भएन,' जिल्ला वन अधिकृत गणेश रायले भने।
निजी आबादीमा बोट भएका धनीले निवेदन दिएपछि स्थलगत
निरीक्षण, नापी कार्यालयबाट स्थलगत रुपमा जग्गाको कित्ता
नम्बर यकीन, बिक्रीनामा, जाँचबुझ मुचुल्का, संकलन अनुमति, संकलन इजाजतपत्र, नापतौलसहित मुचुल्का, राजस्व लिएपछि मात्रै निकासी इजाजतपत्र (छोडपूर्जी) दिइने सरकारी
प्रक्रिया छ। वनले बयर प्रजातिको भन्दै बुद्धचित्त प्रतिकिलोलाई आठ रुपैयाँ
मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ।
यसका अलावा किसानले लुटेराको समेत सामना
गर्नुपर्ने हुन्छ। हालै बनेपा,
बुडोलमा प्रहरीसमेतको
संलग्नतामा लुटेराबाट दिनदहाडै ७२ थान बुद्धचित्तको माला लुटिएको छ। केही समयअघि
इलाका प्रहरी कार्यालय मंगलटारले तिमाल गाउँमा बोधिचित्तको दाना लुट्न गएको
समूहलाई पक्रेको थियो। यी उदाहरणबाट समेत बुद्धचित्त फलाउने, निकासी गर्ने र व्यवसाय गर्नेले दोहोरो सास्ती खेपेको देखिन्छ।
'मेरै आफन्तले बुद्धचित्त बेचेर पाएको रकमबाट लुटेरालाई अतिरिक्त रकम
तिरेका छन्। नदिएसम्म बोटधनी सुरक्षित नै हुँदैनन्,' पूर्व ऊर्जाराज्यमन्त्री
दोङले भने। उनका अनुसार किसानले न्यून मूल्य पाए पनि बिचौलियाबाट मूल्य बढ्दै
जाँदा बुद्धचित्तको लाखौं रुपैयाँसम्म पुग्ने गरेको छ।
काभ्रेमा बुद्धचित्तका बोट रहेका क्षेत्र
(क्लस्टर) मा तिमाल र दाप्चाभेग मुख्य मानिन्छ। तिमालका ठूलोपर्सेल, चापाखोरी, मेच्छे, पोखरीनारायणस्थान, मंगलटार, बोल्देफेदिचे, कानपुर, खार्पाचोक गाविस छन्। यस्तै दाप्चा भेगका डराउने पाखेरी, शिखरअम्बोटे, सिपाली चिलाउने, कालिञ्चोक, सिसाखानी र महादेवटार गाविस छन्। यी सबै ठाउँमा कच्ची बाटो रहेको र
मूल सडकसम्म आइपुग्न समय लाग्ने भएकाले किसानले वैकल्पिक उपायका रुपमा
हेलिकप्टरबाट समेत ढुवानी गरेका छन्। अघिल्लो साता शिखरअम्बोटेबाट १ सय ८१ किलो
बोधिचित्त दाना हेलिकप्टर नै चार्टर गरेर काठमाडौं निकासी भएको छ।
वन कार्यालयको निकासी इजाजतका आधारमा सुरक्षा
माग्ने किसान र व्यवसायीको बुद्धचित्त दाना र मालालाई सुरक्षापूर्वक सीमा
कटाइदिएको काभ्रे प्रहरीको भनाइ छ। 'हामीले तिमालको चापाखोरीबाट
७ सय ३ किलो बोधिचित्तको दाना प्रहरी सुरक्षामा काभ्रेको नाका कटाइदिएका छौं,' प्रहरी नायब उपरीक्षक जनकराज भट्टराईले भने।
राजनीतिक दलसमेत सक्रिय
बुद्धचित्तको रुख भएका बोटधनीलाई दोहोरो मार पर्न
थालेपछि प्रअिज केदार न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा प्रमुख, वन प्राविधिक र राजनीतिक दलका प्रतिनिधिको बैठकले विभिन्न निर्णय
गरेको छ।
बुद्धचित्त प्रतिबन्धित नभए पनि यसको मूल्य
शृंखलाका कारण असुरक्षा भएकाले जिल्ला वन कार्यालयबाट निकासी इजाजतपत्र (छोडपूर्जी)
लिएका बोटधनीलाई पर्याप्त सुरक्षा दिने निर्णय भएको छ। यसै निर्णयका आधारमा
अघिल्लो साता चापाखोरी–९ की फूलमाया तामाङको ७ सय ३ किलो बुद्धचित्तका
दाना प्रहरीले सुरक्षासहित काभ्रेको नाका कटाइदिएको छ।
यस्तै, नापी कार्यालयले समेत
बुद्धचित्त खेती गर्दै आएका किसानलाई पहिलो प्राथमिकता दिएर जग्गाको निजी आबादी
यकीन गरिदिने निर्णय गरिएको छ। राजनीतिक दलले समेत बुद्धचित्तको खेती गर्दै आएका
किसानलाई सहयोग, समन्वय र सचेतना कार्यक्रम गर्नका लागि
गाविसस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय भएको छ।
बुद्धचित्त लुट्नेलाई डाँका मुद्दा
प्रहरीसमेतको संलग्नतामा बनेपा–११, बुडोलमा असार २९ गते ७२ थान बुद्धचित्त माला
लुटियो। मेच्छे–६ का काँइला लामाको बुद्धचित्त माला लिएर सोही
स्थानका राज दोङ टिपरमा चढेर आएका थिए। मंगलटारदेखि नै मोटरसाइकलमा पिछा गर्दै
आएका लुटेरामध्ये एक प्रहरी हवल्दारसमेत थिए।
भक्तपुर, कटुन्जे–५ घर भई भकुन्डे प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी हवल्दार रविन
चौगुठीसहित धुलिखेल–७ का लोकेन्द्र तोलांगे, राजु लामा, जयकृष्ण श्रेष्ठ र बनेपा नयाँ बस्तीका अजय
तामाङलाई प्रहरीले चोरी मुद्दा दायर गरेको छ। घटनामा संलग्न दुईजना फरार भएका छन्।
'प्रहरी भएर सुरक्षा दिनुपर्नेमा उल्टै लुटपाटमा संलग्न भएकाले
हवल्दारलाई निलम्बन गरी मुद्दा दायर गरिएको छ, फरार अभियुक्तको खोजी
गरिरहेका छौं,' काभ्रेका प्रहरी नायब उपरीक्षक जनकराज भट्टराईले
जानकारी दिए।
प्रहरीले १ सय ८ दाना भएको बुद्धचित्त मालाको प्रतिमाला १३ हजार ९८ रुपैयाँ मूल्यांकनका आधारमा ७२ थानको ९ लाख ४३ हजार बिगो दाबी गरेको छ। प्रहरीले जबरजस्ती चोरीको अभियोगपत्र तयार गरे पनि जिल्ला सरकारी वकील कार्यालयले सो घटनालाई डाँकाअन्तर्गत मुद्दा दायर गरिने बताएको छ।नागरिक दैनिकबाट