बरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरुले रुस समर्थक विद्रोहीहरुले अघिल्लो हप्ता पूर्वी युक्रेनमा मलेसियन एअरलाईन्सको विमान गल्तीले खसाएको हुनसक्ने बताएका छन्।उनीहरुले रुसले विद्रोहीहरुलाई हातहतियार उपलब्ध गराए पनि अहिलेसम्म विमानमाथि भएको आक्रमणमा रुसको प्रत्यक्ष हात नदेखिएको बताएका छन्।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स डच
विज्ञहरुलाई बुझाइएको छ र परिक्षणका लागी ब्रीटेन ल्याउन लागिएको छ।
फोरेन्सिक विज्ञहरुले शवको पहिचान गर्ने काम
थालेका छन् र पहिलो चरणमा केही शवहरुलाई बुधबार नेदरल्याण्ड्स लगिदैँछ।
नाम उल्लेख नगर्ने सर्तमा एक जना बरिष्ठ अमेरिकी
गुप्तचर अधिकारीले हालसम्म संकलित प्रमाणहरुले जेट खसाल्न रुसको प्रत्यक्ष हात
रहेको नदेखिएको बताएका छन्।
तर रुसले विद्रोहीहरुलाई हतियार उपलब्ध गराएर एम
एच १७ विमानलाई खसाल्न सक्ने अवस्था उत्पन्न गराएको उनीहरुको निचोड छ।
गुप्तचार अधिकारीहरुका अनुसार गोप्य टेलीफोन
कुराकानी, स्याटेलाइटबाट
खिचिएका तस्विरहरु र समाजिक संजालमा बिद्रोहीहरुले व्यक्त गरेका धारणाहरुका आधारमा
पछिल्लो निष्कर्ष निकालिएको हो।
यसअघि ओबामा प्रशासनले २ सय ९८ जना यात्रुको
ज्यान जाने गरी भएको उक्त दुर्घटनामा मस्कोको हात रहेको बताएको थियो।
रुसले बारम्बार युक्रेनी सरकारी फौजलाई दोषी
ठहर्याउनुपर्ने भन्दै आफू माथि लागेको आरोप आधारहीन रहेको बताउने गरेको थियो।
यसैबीच डच अधिकारीहरुले हालसम्म दुर्घटनाग्रस्त
विमानका २ सय जना यात्रुहरुको मात्र शव फेला परेको भन्दै खोजीकार्य जारी
राख्नुपर्ने बताएका छन्।
यसअघि चिस्यान सुविधा भएको रेलमा राखेर
दुर्घटनाग्रस्त क्षेत्रबाट २ सय ८० वटा शव खार्किभमा ल्याइएको बताइएको थियो।
फोरेन्सिक विज्ञ जान टुइन्डर भन्छन्, “अहिलेसम्म हामीलाई थाहा भए
अनुसार २ सय वटा मात्र शव यहाँ ल्याइएका छन् त्यसको अर्थ दुर्घटना भएको स्थानमा
अझै शवका अवशेषहरु छन् भन्ने हुन्छ।”
पहिलो चरणमा बुधवार विद्रोही नियन्त्रित
क्षेत्रबाट बाहिर ल्याइएका शवहरुलाई नेदरल्याण्ड्स लगिँदैछ।
यस बीच मलेसियाली अधिकारीहरुले विमानको ब्लयाक
बक्स डच विज्ञहरुलाई हस्तान्तरण गरेका छन्।