घिसिङको पुर्नवहालीको माग गर्दै तेश्रो दिन पनि रसुवा बन्द
Admin / 2014-07-23 02:24:12
रसुवा - चार जलविद्युत आयोजनाको निर्माण गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले तीन दिन देखि रसुवा बन्द गरेका छन्।
बुधबार विहानै देखि स्थानीयले यातायातका साधन चल्न दिएका छैनन्। निर्णयको विरोध गर्दै ५ दिन देखि आयोजनाको सम्पूर्ण काम बन्द भएका छन्। स्थानीयले दैनिक घिसिङको पुनवहालीको माग गर्दै रसुवा र सिन्धुपाल्चोकको साइट अफिसमा धर्ना दिएका छन्।
आफुहरुको बन्द घिसिङको पुर्नबहाली नभए सम्म जारी रहने हाकुका स्थानीय छेगु लामाले बताए। 'प्राधिकरण सञ्चालक समितिले घिसिङ हटाउने निर्णय फिर्ता नलिए सम्म आयोजनाको साइट अफिसमा लगाइएको ताला खोलिन्न,' लामाले भने, 'हामी निर्णय कुरेर बसेका छौ, अन्य व्यक्ति आए हामीलाई स्वीकार्य हुनेछैन।’
चिलिमे जलविद्युतलाई जिल्लाकै नमुना बनाएर कुशल नेतृत्व गरिरहेका अवस्थामा उर्जा मन्त्री राधा ज्ञवालीले सोझै हस्तक्षेप गरेर हटाउने निर्णयको विरोधसहित स्थानीयको बन्दमा बिज्ञप्ति निकालेर आफुहरुको एक्यवद्धता जनाएको नेपाली काँग्रेस रसुवाका सभापति लामाकार्पु तामाङले बताए।
नेपाली काँग्रेस रसुवाले मंगलबार बिज्ञप्ति मार्फत् घिसिङको पुर्नबहाली हुनुपर्ने माग गरेको छ। घिसिङ हटाउने निर्णयले स्थानीय र जलविद्युत् आयोजनाबीच द्वन्द्व निम्ताउनेबाहेक केही नगरको सभापति तामाङले बताए। उर्जा संकटको अवस्थामा यो निर्णयले आयोजनाको लागत र निर्माण अवधि पनि बढ्न सक्ने भएकाले घिसिङको पुर्नवहाली गर्नुको विकल्प नभएको सभापति तामाङले बताए। एनेकपा माओवादी रसुवाले पनि घिसिङको पुर्नवहालीको लागि गरिएको रसुवा बन्दमा आफुहरुको समर्थन रहेको जिल्ला नेता ईन्द्र गौतमले बताए। 'हाम्रो पूर्ण समर्थन् घिसिङलाई छ,' नेता गौतमले भने, 'फिर्ता नभए स्थानीय अझै शसक्त भएर उत्रन सक्छन्, त्यसैले मन्त्री ज्ञवालीले बेलैमा निर्णय फिर्ता गर्दा राम्रो हुन्छ।'
प्राधिकरणको सञ्चालक समितीको बैठकले घिसिङको ४ वर्षे कार्यकाल सकिएको भन्दै काज फिर्ता गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित छन्।
प्रकाशित मिति: 2014-07-23 02:24:12
प्रतिक्रिया: