“म स्वस्थ भएर फर्केको छु, अब सबै विस्तारै ठिक हुनेछ,” प्रधानमन्त्रि
Admin / 2014-07-23 01:29:38
क्यान्सरको उपचार गराउन एक महिनाअघि अमेरिका गएका प्रधानमन्त्री सुशील कोइराला ६ साउनमा स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले अमेरिकामा स्वास्थ्योपचारपछि आफू पूर्ण स्वस्थ भएको र अब शान्ति र संविधानका कामहरु तीव्र गतिमा अगाडि बढाउने बताए ।
उनले उपचारपछि आफू पूर्णरुपमा स्वस्थ्य भएको जानकारी गराउँदै अब छिट्टै २६ सभासद् मनोनयन र अन्य महत्वपूर्ण नियुक्तिहरु हुने बताए । “म स्वस्थ भएर फर्केको छु, अब सबै विस्तारै ठिक हुनेछ,” कोइरालाले भने ।
प्रधानमन्त्री कोइरालले संविधानसभा निर्वाचनमा नेपाली जनताले अभिव्यक्त गरेको जनादेशअनुरुप एक वर्षभित्र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान जारी गर्न अब सहमतिका साथ तीव्र गतिमा अघि बढ्ने बताए ।
उनले एक महिना लामो उपचारका क्रममा आफ्नो स्वास्थ्योपचारमा चासो राखी शीघ्र स्वास्थ्य उपचारका लागि प्रेरित गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
बजेट ल्याउने बेलामा आफू एक महिनाभन्दा बढी समय विदेश रहँदा भने असजिलो महसुस गरेको कोइरालाको भनाई थियो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा करवीरनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्य उपचारबारे जानकारी गराउँदै रेडियोथेरापी विधिको उपचारपछि फोक्सोमा देखिएको सङ्क्रमण निको भएको बताए ।
कोइराला अब तीन महिनापछि ‘फलोअप’ जाँचका लागि फेरि अमेरिका जानुपर्ने छ ।
प्रधानमन्त्री कोइराला अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको उपचारपछि स्वास्थ्यलाभ गरी फर्केका हुन् ।
काठमाडौँमा स्वास्थ्यजाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि थप उपचारका लागि गत २ असारमा उनी अमेरिका प्रस्थान गरेका थिए ।
प्रकाशित मिति: 2014-07-23 01:29:38
प्रतिक्रिया: