प्रचण्डलाई पार्टीले घर बनाईदिने
Admin / 2014-07-23 01:10:06
काठमाडौ, श्रावण ७ - एमाओवादीले अध्यक्षका लागि स्थायी निवास बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल हाल लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।
केन्द्रीय नेतालाई 'सर्वहारा जीवनशैली' मा उद्यत गराउन बनेको आचारसंहिता प्रस्तावमा अध्यक्षका लागि राजधानीमा स्थायी बसोबासको व्यवस्था मिलाउने उल्लेख छ । दाहाल सुविधासम्पन्न घरमा बसेको भन्दै पटक-पटक आलोचना भएपछि पार्टीले नै उपलब्ध गराउने उपाय खोजिएको हो ।
'अध्यक्षको बसोबास स्थायी समाधानका लागि पहल गर्ने र तत्काल वैकल्पिक व्यवस्था गर्ने' कान्तिपुरलाई प्राप्त प्रस्तावमा छ । यसअघि शीर्ष नेताहरूका लागि स्थायी बसोबास गर्ने सुझाव केही नेताले केन्द्रीय समितिमा राखे पनि ठोस प्रस्ताव बनेको थिएन ।
नेताहरूमा 'सर्वहारा जीवनशैली' क्षीण हुँदै गएको सन्दर्भमा एमाओवादीले २० बुँदे आचारसंहिता प्रस्ताव तयार गरेको हो । यसबारे आउने स्थायी समिति बैठकमा छलफल गरी कार्यान्वयनमा जाने नेताहरूले बताए । कोषाध्यक्ष हरिबोल गजुरेलले मस्यौदा गरेको आचारसंहिता प्रस्ताव महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुनले समीक्षा गरी अन्तिम रूप दिएका हुन् । त्यसमा रूपान्तरणको प्रक्रिया अध्यक्ष, पदाधिकारी र स्थायी समितिबाट कडाइपूर्वक थालनी गर्ने उल्लेख छ । 'कार्यशैली पारदर्शी राख्न आम्दानी/खर्चको दैनिक विवरण राखी त्रैमासिक रुरूमा केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ,' प्रस्तावमा उल्लेख छ, 'जीवन र आचरणलाई पारदर्शी नबनाए अनुशासनको उल्लंघन ठहरिनेछ ।'
हरेक केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयलाई सम्पत्तिसहित आफ्नो, अनि परिवारको विषयमा विवरण पेस गर्ने र त्यसो नगरे अनुशासन उल्लंघन ठहरिने प्रस्तावमा उल्लेख छ । नेताहरू हरेक महिनाको १ गते श्रममा सहभागी हुने, अन्तिम दिन निम्न वर्गसँग छलफल गर्ने र १५ गते सहिद, घाइते, अपांगलाई अनिवार्य भेट्ने नीति पनि प्रस्तावित छ ।
'हरेक केन्द्रीय सदस्यले आफ्नो नेतृत्वमा जनता र कार्यकर्तालाई जोडेर एउटा सहकारी संस्था सञ्चालन गर्नुपर्ने छ,' प्रस्तावमा छ । पार्टी काममा राजधानीमा आउने केन्द्रीय सदस्यको बसोबास र खानपिन राजधानीमा बस्ने केन्द्रीय सदस्यले गर्नुपर्नेछ ।
हाल नेताहरूले निजी रूपमा प्रयोग गरिरहेका गाडीलाई सामूहिक रूपमा प्रयोग गर्ने नीति छ । हाल पोलिटब्युरो सदस्य र केही केन्द्रीय सदस्यले पार्टीको नाममा दर्ता भएका गाडी आफूखुसी प्रयोग गर्दै आएका छन् । 'अत्यावश्यक काममा सबै केन्द्रीय सदस्यले गाडी प्रयोग गर्न सक्ने छन्,' प्रस्तावित नीतिमा भनिएको छ । राज्य इञ्चार्जको मातहतमा रहेका गाडी त्यही समितिका लागि प्रयोग हुने उल्लेख छ । कुन नेताले कति सहयोगी राख्ने मापदण्ड पनि आएको छ ।
अध्यक्षले हरेक महिना जिल्ला अध्यक्षसँग फोनवार्ता गर्ने र प्रत्येक वर्ष ७५ वटै जिल्लाका कार्यक्रममा जानुपर्नेछ । आर्थिक स्रोत कमजोर भएका नेतालाई मासिक ५ हजार पकेट खर्च दिने नियम प्रस्ताव गरिएको छ । 'सर्वहारकृत हुन प्रतिस्पर्धा गर्ने, इमानदार कार्यकर्ता र सर्वसाधारण जनताले नकारात्मक टिप्पणी गर्ने ठाउँ नराख्ने हुनुपर्छ । मेरो त बानी यस्तै छ भनेर सर्वहारकरण हुने प्रक्रियालाई न्यूनीकरण गर्न पाइने छैन,' प्रस्तावित आचारसंहितामा उल्लेख छ ।कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: 2014-07-23 01:10:06
प्रतिक्रिया: