टोकियो– विश्वकपको खराब प्रदर्शनलाई बिर्सदै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डाले नयाँ सिजनका लागि आफू पूर्ण रुपमा फिट भएको बताएका छन्।
'अघिल्ला बर्षहरुमा जस्तै सिजनभर राम्रोको लागि गर्नेछु। उत्कृष्ट खेल्छु । टोलीलाई सहयोग गर्छु । गोल गर्न र उपाधि जित्न प्रयास गर्छु,' प्रायोजकको कार्यक्रममा भाग लिन जापान रहेका २९ बर्षे स्ट्राइकरले भने । उनले आफु अझै ६-७ बर्ष उच्च स्तरको प्रतिस्पर्धाका लागि उपलब्ध रहने बताए।
गत महिना ब्राजिलमा सम्पन्न विश्वकप फुटबलमा पोर्चुगल नकआउट चरण पुग्न असफल भएको थियो। समूह चरणका ३ मध्ये पोर्चुगलले १ मा जित, १ मा बराबरी र अर्को खेलमा हार बेहोरेको थियो। घुँडाको चोटका कारण रोनाल्डो विश्वकपमा अपेक्षा अनुसारको प्रदर्शन गर्नबाट चुकेका थिए । ३ खेलमा उनले थ्रुपै मौका गुमाए भने १ गोलमात्र गरे । विश्वकप सुरु हुनु केही अघि मात्र उनलाई चोट लागेको थियो ।
'नयाँ सिजनमा केन्द्रित हुन्छु । चोट पूर्णरुपमा ठिक भैसक्यो । अहिले खुसी छु,' उनले भने । स्पेनिस लिगको सुरुआत र अन्त्य उच्चस्तरबाट गर्ने र त्यसका लागि आफु पुरा तयार रहेको उनले जनाए ।
विश्वकपका बारेमा उल्लेख नगरि रोनाल्डोले गत सिजन अविश्वसनिय रहेको बताए । थ्रपै व्यक्तिगत पुरस्कारसहित उनको क्लब रियाल मड्रिडले १० औं पटक च्याम्पियन्स लिग र स्पेनको पुरानो फुटबल प्रतियोगिता कोपा डेल रे उपाधि जितेको थियो ।
गत सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगका उच्च गोलकर्ता रहेका रोनाल्डोले दोस्रो पटक बालोन डे ओर पनि जितेका थिए ।
फिटनेसका सामाग्रीको प्रवद्धन गर्न जापान पुगेका रोनाल्डोले भने,' हामीले अघिल्लो सिजनकै प्रदर्शनलाई निरन्तरता दिनुपर्छ । त्यसो गर्न सकेन यो बर्ष ५÷६ उपाधि जित्न सक्छौं । त्यसैमा मेरो ध्यान छ । मेरो लागि सबै सिजन चुनौतिपूर्ण हुन्छ र त्यसको सामना गर्न तयार छु ।'
उनले आफू सतप्रतिशतक खेलमा समर्पित रहेको र खेल जीवनको अन्तिमसम्म त्यस्तै प्रयासमा लाग्ने समेत वाचा गरे ।