घिसिङको पुर्नवहालीको माग गर्दै स्थानीयद्धारा आज पनि रसुवा बन्द
कांग्रेस,माओबादी, राप्रपा नेपलको समर्थन
Admin / 2014-07-22 03:08:51
रसुवा- चिलिमे जलविद्युत् आयोजनाका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले चरणवद्ध कार्यक्रम अनुसार जिल्लाका आधा दर्जन संस्थाले आज विहानैदेखि रसुवा बन्द गरेका छन्।
बन्दका कारण आज पनि रसुवाबाट चल्ने यातायातका साधन चल्न सकेका छैनन्। स्थानीयले उर्जा मन्त्री राधा ज्ञवालीको विरोध गर्दै नारावाजी गर्नुका साथै सोमबार साँझ चिलिमेमा मसाल जुलुस प्रर्दशन गरे। घिसिङलाई हटाउन गरिएको निर्णय फिर्ता नगरिए चिलिमे जलविद्युत्को उत्पादन समेत बन्द गरिने, स्थानीय छेगु लामाले जानकारी दिए।
स्थानीयले साउन ३ गते देखि घिसिङ हटाएको विरोधमा चिलिमेले निर्माण गर्ने लागेको माथिल्लो साञ्जेन १४.२ मेगावाट, साञ्जेन तल्लो, ४२.५ मेगावाट र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको साइट अफिसमा तालाबन्दी गरेका छन्। बिहानैदेखि स्थानीय हातमा प्लेकार्ड र लाठी लिएर प्रर्दशनमा उत्रिएका छन्। स्थानीयले घिसिङलाई सिधै हस्तक्षप गरेर निकालिएको भन्दै उर्जा मन्त्री राधा ज्ञवालीको राजिनामासमेत् माग गरेको जनाएका छन्। स्थानीयले माग पूरा नभए चिलिमेमा बाँधमा हालिएको पानी फर्काउने चेतावनी दिए।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा, चिलिमे जलविद्युत् संघर्ष समिति र हाकु मजदुर संघर्ष समितिले संयुक्त विज्ञप्ति निकालेर बन्दको समर्थन जनाएका छन्। घिसिङको पुर्नवहाली नगरिए निर्माणाधीन जलविद्युत निर्माणमा अवरोध पुर्याउने चेतावनी विज्ञप्ति मार्फत् दिएका छन्। घिसिङलाई हटाइएकोमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका दलले बन्दको समर्थन गरेका छन्।
प्रकाशित मिति: 2014-07-22 03:08:51
प्रतिक्रिया: