टोक्योमा भानु जयन्ति मनाईयो
Admin / 2014-07-21 20:37:10
टोक्यो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसरमा जापानको टोकियोको ओमोरी स्थित सेइयु स्टोरमा रहेको शक्ति रेस्टुरेन्टको सभाकक्षमा विषेश कार्यक्रम गरिएको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्वभरी भानुभक्तको द्विशवार्षिकी मनाउन गरेको अभियान अन्तर्गत जापानस्थित नेपाली दुतावासको सहकार्य र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जापानका लागि नेपाली राजदुत मदनकुमार भट्टराई, गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्ट, लगायतको समेत उपस्थिति रहेको थियो ।
उक्त अवसरमा करिव दुई दर्जन बढी श्रष्टाहरुले आ–आफ्ना कविता, गीत, गजल, मुक्तक, व्यङ्ग्य, हाइकु, उखानटुक्का लगायतका सिर्जना प्रस्तुत गर्दै मायाप्रेमका भावना, समसामयिक विषयमा कटाक्ष र देशप्रतिको चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा.भट्टराईले आदिकविको पदवीको बारेमा रोचक पक्ष औल्याउँदै संस्कृत भाषाको मौलिक लेखक कालिदास, हिन्दीका
तूलसीदास र खस भाषाका भानुभक्तको चर्चा गरेका थिए ।
कार्यक्रममा हङकङमा लामो समयदेखि समाजसेवामा सक्रिय रहेवापत हङकङ सरकारको तर्फबाट ‘कम्यूनिटी सेवा पुरस्कार’ बाट सम्मानित कुलप्रसाद गुरुङ र उनकी श्रीमती अरुणा गुरुङलाई खादा ओडाएर सम्मान गरिएको थियो ।
प्रकाशित मिति: 2014-07-21 20:37:10
प्रतिक्रिया: