पहिलो र दोस्रो शृंखला क्रमशः सन् २००५ र २००७ मा भएका थिए। पहिलोमा दीपक लिम्बु र दोस्रोमा सन्तोष लामा ‘नेपाली तारा' बनेका थिए।
दोस्रो शृंखला सकिएको सात वर्षपछि तेस्रो सिजन सुरु हुन लागेको हो। यसपालिको शृंखला हरेक किसिमले उत्कृष्ट रहने नीलबाराही फिल्मस्का रञ्जित आचार्यले दाबी गरे।
‘पहिलेका शृंखलाले जन्माएका प्रतिभाले नेपाली संगीतमा राम्रो प्रभाव छाडेका छन्। यसैले पनि नेपाली ताराको योगदानलाई पुष्टि गर्छ। तेस्रो शृंखलाले झन् प्रतिभाशाली र उत्कृष्ट संगीत प्रतिभा भिœयाउने अपेक्षा राखेका छौं,' आचार्यले भने।
कार्यक्रममा जानकारी गराइए अनुसार राजधानीलगायत धरान, बुटवल, पोखरा र नारायणघाटमा अडिसन हुनेछन्। अडिसनबाट १२० जना छानिनेछन् र गायन प्रतिभाका आधारमा तिनबाट ४० जना अर्को चरणको प्रतिस्पर्धाका लागि योग्य मानिनेछन्। १० जनालाई घुम्ती अडिसनबाट छनोट गरेपछि उत्कृष्ट २०, १० हुँदै एक जनालाई तेस्रो शृंखलाको विजेता घोषणा गरिनेछ।
विजेताले मोटरसाइकल र दुई लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी नेपाली तारा विजेताको रुपमा म्युजिक भिडियो सहितका तीन गीत गाउने अवसर पाउनेछन्। उपाधि विजेताले अस्ट्रेलियाका सिड्नी र मेलबर्नमा हुने कन्सटमा गाउने मौका समेत पाउनेछन्।
प्रतियोगिताको अन्तिम दसमा पुग्नेले भने प्रतिव्यक्ति ११ हजार रुपैयाँका दरले नगद रुपैयाँका साथै उत्कृष्ट दसको एल्बममा गीत गाउने अवसर पाउनेछन्।
कार्यक्रममा निर्णायकको भूमिका प्रकाश गुरुङ, सुरेश अधिकारी र रामकृष्ण ढकालले निर्वाह गर्नेछन् भने उत्कृष्ट २० मा पुगेका प्रतिस्पर्धीलाई राजन इशान र जेम्स प्रधानले प्रशिक्षण दिनेछन्। कार्यक्रमलाई पहिलो शृंखलाका रनरअप धर्मेन्द्र सेवान र दोस्रो शृंखलाका विजेता सन्तोष लामाले सञ्चालन गर्नेछन्।