आज २५५८ औं बुद्धजयन्ती मनाइँदै
Admin / 2014-05-14 04:50:17
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । आज २५५८ औं बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
बुद्धजयन्तीका उपलक्ष्यमा विभिन्न बौद्धविहार, मठ र गुम्बाहरूमा धार्मिक समारोहहरूको आयोजना गरिदै छ । विशेष गरेर बौद्ध तीर्थका रूपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीमा आज विश्वका बौद्ध मतालम्बी भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिरहेका छन् ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भुलगायत विभिन्न देशका विहार र गुम्बाहरूमा आज शील प्रार्थनाका साथै बुद्धसम्बन्धी प्रवचनहरू भइरहेका छन् ।
नेपालको मध्यपश्चिम क्षेत्र तराईमा रहेको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायावतीका पुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिनुभएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धका नामले विश्वमा प्रख्यात हुनुभएको थियो ।
जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा महान् घटना वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले आजको दिनलाई जीवनको अपूर्व संयोगका रूपमा पनि लिइन्छ ।
यसैवीच किरात राई, लिम्बु, याक्खा र सुनुवार समुदायको प्रमुख सांस्कृतिक चाड उभौली आजदेखि सुरु हुँदै छ । प्रकृतिपूजक यी समुदायले हरेक वर्ष बैशाख पूर्णिमा र मङ्सिर पूर्णिमादेखि एक महिना उभौली र उधौली पर्व धुमधामले मनाउने गर्छन् ।
किरातीले अन्नबाली लगाउनुअघि भूमि पूजा गरी ‘बालीनाली सप्रियोस् र परिवारमा सुखशान्ति प्राप्त होस्’ भन्ने कामना गर्दै उभौली र अन्नबाली पाकेपछि नयाँ अन्न कुलपितृलाई चढाएर आफूले प्रयोग गर्दै उधौली मनाउने प्रचलन छ ।
उभौली पर्वको अवसरमा राईहरूले साकेला नृत्य प्रस्तुत गर्छन् । मुख्य भेषभूषामा सजिएर यी समुदायका मान्छेहरू हातमा चौंरीको पुच्छर, सिलमी, सिन्कौली सेउली हल्लाउँदै ढोल र झ्याम्टाका तालमा गोलो घेरा बनेर साकेला नाच्ने गर्छन् ।
उभौली पर्वको अवसरमा आज ललितपुरको हात्तीवनमा साकेला कार्यक्रम हुँदैछ ।
प्रकाशित मिति: 2014-05-14 04:50:17
प्रतिक्रिया: