नयाँ दिल्ली, श्रावण ५ - वैदेशिक रोजगारीको सपना देखाएर नाइजेरिया पु्ररयाइएका नेपाली सेना तथा प्रहरीका पूर्व चार जवान झण्डै ५ महिनापछि मंगलबार नेपाल फिर्दैछन् । लेगोस पुर्याएर अलपत्र पारिएका पर्साका नवराज पाण्डे, चितवनका प्रेमबहादुर गुरुङ, गोर्खाका राजिव थापा मगर र धादिङका सुब्बा गुरुङलाई नाइजेरियास्थित गैर आवासीय नेपाली संघको संयोजनमा उद्धार गर्दै घर फिर्ता पठाइएको हो । पीडित ४ जनालाई घरफिर्तीका लागि अन्र्तराष्ट्रिय आप्रवासन संगठन(आइओएम)ले हवाइ टिकट सहितको सहयोग उपलब्ध गराएको हो ।
१५ सय डलर मासिक तलबसहित सुरक्षागार्डमा सजिलै काम पाइने भन्दै यी चारलाई दिल्लीको बाटो हुँदै लेगोस लगेका थिए । गैर आवासीय नेपाली संघ, अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाका अनुसार इकेजास्थित एयरपोर्ट रोडको डिभाइन फाउन्टेन होटलमा अलपत्र अवस्थामा भेटिएका पीडितहरुलाई खानपिन र अन्य केही सहयोग उपलब्ध गराउन संघका पदाधिकारीले साथ दिएका थिए । पीडितका अनुसार जनही बढीमा ६ लाख रुपैयाँ दलाललाई बुझाएर अफ्रिकी असुरक्षित गन्तव्यमा ल्याउने एजेन्टहरु रविन गुरुङ(दिल्ली) र मनोज श्रेष्ठ(दुबइ) हुन् । एक महिने व्यापारिक भिसाका भरमा उनीहरुलाई एजेन्ट रविनको भाइ सुमन गुरुङले ल्याएर लेगोस छाडेका थिए ।
पीडित ४ जनाको उद्धारपछि गैर आवासीय अफ्रिका संयोजक थापा, संघका नाइजेरिया अध्यक्ष चिरन्जीवि रोका, महासचिव दीपक कर्णले लेगोस अन्र्तराष्टिय विमानस्थलबाट घरफिर्तीमा सोमबार बिहान बिदाइ गरेका थिए ।