काठमाडौं
नेपालमा धर्मको विषयलाई लिएर व्यापक चलखेल भइरहेको भन्दै नेपाली कांग्रेसभित्र आन्तरिक बहस शुरू हुन थालेको छ। नेपाललाई धर्मनिरपेक्षता राख्ने कि नराख्ने वा नेपाल हिन्दू राष्ट्र घोषणा गर्ने वा धर्मको बारेमा केही पनि उल्लेख नगर्ने भन्दै कांग्रेसका प्रभावशाली नेताहरू बहसमा उत्रिएका छन्। धार्मिक स्वतन्त्रताको पक्षपाती नेपाली कांग्रेसभित्रको यो बहसले नेपालमा धर्मको मुद्दालाई फेरि एक पटक तताएको छ।धर्मको लडाइँ अत्यन्त घातक हुने र यसले देशलाई नाजुक स्थितिमा पुर्याउने भन्दै धर्मको बारेमा बेलैमा सजग हुन आवश्यक रहेको औल्याउँदै कांग्रेस नेताहरूले नेपालमा विदेशीहरूले प्रलोभनमा पारेर धर्म परिवर्तन गराइरहेको आरोपसमेत लगाएका छन्। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले कांग्रेसको आगामी केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने प्रस्ताव छलफलका लागि पेस गर्ने भन्दै अघि बढेको समाचार सार्वजनिक भएलगत्तै कांग्रेसभित्रका अर्का प्रभावशाली नेता डा. शेखर कोइराला र शंकर भण्डारीले धर्मको विषयमा विदेशी चलखेल बढ्दै गएको बताएका छन्। ‘धर्मको लडाइँ अत्यन्तै घातक हुन्छ, यसले देशलाई अप्ठेरो र नाजुक अवस्थामा पुर्याउँछ’, कांग्रेसका नेता डा. कोइरालाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘धर्मनिरपेक्षभन्दा पनि धर्मको बारेमा केही पनि नलेखेमा अझ राम्रो हुन्छ।’ गाई राष्ट्रिय जनावर हुनुपर्ने, प्रलोभनमा धर्मपरिवर्तन गर्न नहुने आफ्नो मान्यता रहेको भन्दै उहाँले आफू धार्मिक स्वतन्त्रताको पक्षको मानिस भएको उल्लेख गर्नुभएको थियो। कांग्रेसको आगामी केन्द्रीय बैठकमा नेपाल हिन्दू राष्ट्र घोषणा गर्ने प्रस्ताव लैजानेबारे अहिले छलफल भइरहेको बारे आपूm अनविज्ञ रहेको उहाँको भनाइ थियो।नेपाली कांग्रेसको चार तारामध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो भन्दै डा. कोइरालाले नेपालमा धर्मको नाममा विदेशीहरूले व्यापक चलखेल गरिरहेको पनि उल्लेख गर्नुभएको छ।
विशेष गरी युरोपियन मुलुकहरूले नेपालमा धार्मिक स्वतन्त्रताको कुरा बढी उठाउन थालेको बताउँदै कोइरालाले भन्नुभयो— ‘अचम्मको कुरा के छ भने उनीहरूकै देशमा प्रधानमन्त्री बन्न क्रिस्चियन हुनुपर्ने अनिर्वाय व्यवस्था छ।’ धार्मिक स्वतन्त्रताको कुरा बढी गर्ने देशमा नै धर्मको विषयमा धेरै घटनाहरू भएको इतिहास भएको उहाँको भनाइ थियो। नेपालमा हिन्दू, बौद्ध, इसाई, मुस्लिम, किरातलगायत थुप्रै धर्म मान्ने जनताहरू मिलेर बसेको अवस्थामा यो धर्मको कुराले गृहयुद्धसमेत निम्तन सक्ने डा. कोइरालाको भनाइ थियो। हाम्रो देशका नेताहरूले धर्मको पछाडि लागेर राजनीति गर्नु बेकार छ भन्दै कांग्रेस नेता कोइरालाले भन्नुभयो— ‘नेपालका राजनीतिक दलका नेताहरूले धर्मको बारेमा अर्को देशको के धारणा छ भन्ने होइन। आफ्नो देशमा के धर्म हुन्छ भन्ने कुरालाई महत्वपूर्ण रूपमा लिनुपर्छ।’ कांग्रेसका झन्डामा रहेको चार तारा मध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको उल्लेख गर्दै उहाले कांग्रेस धर्मको विषयमा अत्यन्त संवेदनशिल भएको पनि बताउनु भएको थियो।
धर्मनिरपेक्षताबारे नेपाली काग्रेसले पुर्नविचार गर्नुपर्ने धारणा राख्दै काग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले धर्मनिरपेक्षताको कुरा टिकाउ नहुने बताउनुभएको छ। नेपाल समाचारपत्रसंग कुरा गर्दै नेता भण्डारीले २०६२⁄६३ को आन्दोलनको माग पनि धर्मनिरपेक्षता नभएको बताउनु भएको थियो। ‘कुन शक्तिसंग के कति कारणले नेपालका ठूला नेताहरू प्रभावित भए र दस्तावेजमा धर्मनिरपेक्षता उल्लेख गरे’, नेता भण्डारीले प्रश्न तेस्र्याउदै भन्नुभयो– ‘धर्मनिरपेक्षता भनेको अमुर्त कुरा हो। विश्वमा नै अमूर्त कुराले क्षणिक मान्यता पाए पनि टिकाउ नहुने उहाँको भनाइ थियो।’
नेपाली कांग्रेसको त्रिवेणीमा सम्पन्न महासमिति बैठकमा करिब ५ सय जना महासमिति सदस्यहरूले नेपाल धर्मनिरपेक्षतामा जानु हुँदैन भन्दै हिन्दू राष्ट्रको माग गरेका छन् भन्दै भण्डारी काग्रेस सिंगो पार्टीले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताउनुहुन्छ। आन्तरिक रूपमा पार्टीभित्र यस विषयमा कुनै वहस नभएको भन्दै नेता भण्डारीले भन्नुभयो— ‘राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई कमजोर पार्दै जनताको भावना विपरीत राष्ट्रिय एजेण्डा तथा राष्ट्रिय नीति बन्नु हुदैन।’ नेपाली काग्रेसले जनताको भावनाको कदर गर्नुपर्ने उहाको भनाई थियो। नेपालमा भएको गरिबी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न शक्तिकेन्द्रहरूले आपूm अनुकूल लगानी गरेको भन्दै कांग्रेस नेता भण्डारीले त्यो लगानी धर्ममा पनि रहेको उल्लेख गर्नुभएको छ। विभिन्न बहानामा धर्ममाथि हस्तक्षेप गरी सामाजिक सद्भाव खलबल्याउन शक्ति केन्द्रहरूले गम्भीर चलखेल गरिरहेको भन्दै उहाँले नेपालमा भइरहेको राष्ट्रघाती षड्यन्त्रविरुद्ध गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको थियो।
नेपाली कांग्रेसभित्र धर्मको बारेमा भैरहेको वहसबारे नेपाल समाचारपत्रले सोधेको एक प्रश्नमा केन्द्रीय सदस्य धनराज गुरुङले भन्नुभयो– ‘नेपाली काग्रेस स्थापना कालदेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा छ।’ ‘धर्म व्यक्तिको हुन्छ राष्ट्रको हुदैन’ गुरुङले भन्नुभयो— ‘राष्ट्र धर्मनिरपेक्ष भैसक्यो।’ कांग्रेसभित्र हिन्दू राष्ट्र घोषणा गर्ने अभियान बारे आफुलाई केही थाहा नभएको उहाँको भनाइ थियो। संघियतासंगै धर्मनिरपेक्षताको बारेमा पनि कांग्रेसले निर्णय गरिसकेको र अन्तरिम संविधानमा पनि उल्लेख भैसकेको भन्दै काग्रेस सभासद् रामहरि खतिवडाले भन्नुभयो– ‘कांग्रेसभित्र धर्मको बारेमा पछिल्लो समय कुनै पनि वहस भएको छैन।’ नेपालीहरूलाई स्वतन्त्र रूपमा धर्म मान्ने अधिकार दिनुपर्ने र करकापमा धर्म पविर्तन गराउन नहुने धारणा राख्दै उहाले भन्नुभयो– ‘काग्रेसले नयाँ धारणा ल्याएछ भने फेरी वहस गरौंला।’