साईरन बज्यो कि बंकरभित्र
Admin / 2014-07-19 23:06:24
-होम कार्की
दोहा (कतार), श्रावण ४ - इजरायलको तेलअबिबस्थित एउटा घरमा केयर गिभरको काम गर्दै आएकी झापाकी भगवती पौडेल साइरन बज्नेबित्तिकै बंकरतिर दौडिहाल्छिन् । पाँच वर्षदेखि त्यहाँ रहेकी उनी केही दिनयता उच्च सतर्कतामा छिन् ।
गाजा क्षेत्रबाट रकेट आएको जानकारी दिन इजरायलको सुरक्षा फौजले साइरन बजाइदिने गर्छ । हरेक टोलमा सरकारले साइरन राखिदिएको छ । 'बेला-बेला बज्छ,' उनले फोनमा भनिन्, 'त्यो खतराको जनाउ हो । अनि बंकरभित्र दौडिहाल्नुपर्छ ।' इजरायलले गाजा क्षेत्रमा सर्वसाधारण प्यालेस्टिनीविरुद्ध आक्रमण तीव्र बनाई तीन सयभन्दा बढीको ज्यान लिएपछि प्रतिवादमा रकेट प्रहार बढेको हो ।
रोयटर्सका अनुसार प्यालिस्टिनी लडाकुहरूले शनिबार इजरायलतर्फ कम्तीमा १८ वटा रकेट प्रहार गरेका छन् । त्यसले दक्षिण सहर डिमोनामा एकको मृत्यु भएको छ । उताबाट आउने रकेटलाई इजरायली सुरक्षा फौजले आइरन बमले पछ्याउँदै आकाशमै निष्त्रिmय पारिदिन्छन् । त्यसले नभेटाए मात्र जमिनमा खस्छ ।
'अधिकांश नेपाली घरभित्रै हुन्छन् । घर-घरमा बंकर भएकाले सुरक्षित छन्,' तेलअबिबस्थित नेपाली उपनियोग प्रमुख खड्गप्रसाद दाहालले भने, 'रकेट हत्तपत्त खस्दैन । खसिहाले बंकरभित्र पस्दा सुरक्षित होइन्छ ।'
इजरायलको राजधानी जेरुसेलाम, तेलअबिब, हाइफा तुलनात्मक रूपमा बढी सुरक्षित स्थल हुन् । गाँजा क्षेत्रको नजिकै रहेको आस्केला र आसदोज बढी रकेट प्रहार हुने क्षेत्र हुन् । 'साइरन बजेको दुई मिनेटभित्र इजरायली सेनाले आइरन बम प्रहार गरी आकाशमै डिस्पोज गरिदिन्छन् । यसको आवाज निकै ठूलो हुन्छ,' दाहालले भने, 'घरहरू थर्किन्छन् । त्यो क्रम भइराख्दा तनाब बढिरहन्छ । यसले गर्दा कतिपय नेपाली डराएका पनि छन् ।'
दूतावासले त्यहाँ कार्यरत नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । दूतावासले इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता नभएकाले सुरक्षित छु भनेर भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।
इजरायलमा करिब ६ हजार नेपाली कार्यरत छन् । तीमध्ये बढी मात्रामा युद्धप्रभावित आस्केला र आसदोजमा झन्डै ३ सय छन् । दूतावासका अनुसार दक्षिणी क्षेत्रका खेतीमा काम गर्ने नेपाली पनि सुरक्षित छन् । 'त्यो क्षेत्र इजिप्टसँग जोडिएको हुनाले रकेट आउने गरेको छैन,' उनले भने ।
इजरायलको होम फन्ट कमान्डले आफूहरूले जारी गरेको सूचनाअनुसार जीवनयापन गर्न अनुरोध गरेको छ । 'घरभित्र रहँदा तोकिएको सुरक्षित स्थान, सेल्टर वा बंकरमा तत्काल जाने र समयले भ्याएसम्म झ्याल-ढोका बन्द गर्ने,' उसले भनेको छ, 'साइरन बजेको १० मिनेटसम्म बंकर नछाड्ने ।' दूतावासले पनि सुरक्षित रहन त्यहीअनुसार नेपालीलाई सजग गराइरहेको जनाएको छ ।
कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: 2014-07-19 23:06:24
प्रतिक्रिया: