नेपाल ब्युरो–साउन २,काठमाडौँ ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टाको आठौँ मन्त्रिस्तरीय बैठक आगामी बिहीबार भुटानको राजधानी थिम्पुमा हुने भएको छ ।
बैठकमा साफ्टा कार्यान्वयनको सिलसिलामा संवेदनशील वस्तुहरुको सूचीमा रहेका उत्पादनहरुको संख्या र भन्सार तथा गैरभन्सार अवरोध हटाउने, व्यापार तथा सेवा सम्बन्धी सार्क सम्झौताबारे छलफल हुने बताइएको छ ।
सार्क क्षेत्रमा व्यापार प्रवद्र्धनका साथै अन्तर क्षेत्रीय व्यापार वृद्धिबारे पनि बैठकमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सदस्य राष्ट्रलाई वस्तु तथा सेवाहरुको अन्तिम सूची उपलब्ध गराउने सम्बन्धमा पनि बैठकमा विचारविमर्श हुने छ ।
बैठकमा भाग लिने आठ सदस्यीय नेपाली प्रतिनिधिको नेतृत्व गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा आगामी बुधबार थिम्पु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।