सरकारले
सुरक्षाको कारण देखाउँदै १४ औं श्यामार्पा रिन्पोछेको कुदुङ (शब) अन्तिम समाधिको लागि
ल्याउन दिन नसकिने निर्णय बिहीबार गरेको छ।
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री
बामदेव गौतमले राष्ट्रपति डा. रामवरण यादवलाई यस सम्बन्धी निर्णयको जानकारी पनि बिहीबारै
दिइसकेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको
कुदुङ काठमाडौं ल्याउन दिँदा ठूलो संख्यामा अनुयायीहरू सहभागी हुने भएकोले सुरक्षाका
समस्या हुन सक्ने जानकारी गराएका थिए।
यहिँ मौका पारेर स्वतन्त्र तिब्बत गतिविधिमा संलग्न हुने दलाई लामाका अनुयायीहरूले समेत घुसपैठ गरी कुनै गतिविधि गरेमा त्यसले देशलाई ठूलो क्षति हुन सक्ने पनि गौतमले बताएका थिए। यसरी अनुमति दिनु सुरक्षा व्यवस्थाकै निम्ति संवेदनशील हुने भएकोले पनि अनुमति दिन नसकिने निर्णय सरकारले गरेको गृह स्रोतले बतायो।
सभासद र स्थानीय समुदायका व्यक्तिहरूसँगको
भेटमा राष्ट्रपतिले सरकारलाई श्यामार्पाको शब ल्याउन दिन पत्र लेख्ने आवश्वास समेत
दिएका थिए। सन् २०११ मा राष्ट्रपतिले उनीसँगै विश्व शान्ति महोत्सव मान्लाम छेन्मोको
उद्घाटन समेत गरेका काठमाडौंको उत्तरी क्षेत्र रानीबनको काखमा श्यामार्पाले खोलेको
श्यार् मिन्हुन इन्स्टिच्युटमा अन्तिम समाधिमा राख्न उनको पार्थिव शरीर ल्याउने अनुमति
सरकारसँग माग गरेका थिए। विदेशी नागरिकलाई अन्तिम संस्कारका निम्ति नेपाल ल्याउन दिने
नियम नभएको भन्दै यसअघि अनुमति दिन सरकारले अस्वीकार गरेको थियो।
सरकारको यो निर्णयमा पुनर्विचार गर्न भूटानी
प्रधानमन्त्री छिरिङ टोप्गेले कार्यवाहक प्रधानमन्त्री गौतमलाई पत्रसमेत पठाएका थिए।
श्यामार्पाको शब भूटानी राजदबारमा अन्तिम दर्शनपछि नेपाल ल्याउने तयारी थियो। श्यामार्पा
रिन्पोछेको जर्मनीमा रहेको उनको संस्था वोधीपथ कर्ग्यु केन्द्र रिन्छेन उलमा जेठ २८
गते हृदयघातबाट निधन भएको थियो। त्यसपछि अन्तिम दर्शनका निम्ति भारत हुँदै उनको शब
असार २९ गते काठमाडौं ल्याएर साउन १५ गते अन्तिम समाधिको तयारी अनुयायीहरूले गरेका
थिए।
बौद्ध धर्मावलम्बीहरूले उनलाई अमिताभ बुद्धको
अवतारसमेत मान्दै आएका छन्। उनी हिमाली तथा तिब्बती बौद्ध परम्पराको कर्म कर्ग्युपा
सम्प्रदायका १४ औं श्यामार्पा रिन्पोछे हुन्। यसअघि उनको आठौ अवतार हेलम्बुमा भएको
विश्वास छ।