साउने संक्रान्ति आज मनाइदै
Admin / 2014-07-17 04:08:48
नेपाल ब्युरो–साउन १, काठमाडौँ ।
आज साउन १ गते अर्थात् साउने संक्रान्ति, सौर्यमान अनुसार सूर्य दक्षिणायन तिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
आजका दिन, असारे वर्षा र हिलोबाट लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा छ । दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता वनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ ।
यसैबीच पशुपतिनाथ लगायतका देशैभरका शिव मन्दिरहरुमा महिला भक्तजनको विहानैदेखि घुइँचो लागेको छ । वैदिक मान्यताअनुसार शिव आराधनाका लागि साउन महिना अति उपयुक्त महिना मानिने भएकाले पनि मन्दिरमा दर्शनका लागि महिला भक्तजनको घुइँचो लागेको हो ।
साउनमा शिवजीको व्रत बसेमा पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत विषयमा सफलता प्राप्त हुने विश्वास रही आएको छ ।
विशेषगरी शिवजीलाई साउन महिनाको प्रत्येक सोमबार जल, दूध, भाङ, धतुरो चढाउने गरिन्छ । यसैगरी आजैबाट विभिन्न धार्मिक तीर्थस्थलहरुमा बोलबम मेला समेत लाग्ने गर्छ । आजका दिनदेखि महिनाभरि नै हिन्दु नारीहरुले हातमा हरिया चुरा, हरियो सारी र मेहन्दी लगाउने गर्दछन् ।
प्रकाशित मिति: 2014-07-17 04:08:48
प्रतिक्रिया: