बुद्दचिता माला लिन हेलिकोप्टर चार्टड गरियो
Admin / 2014-07-16 23:18:35
बनेपा- झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान।
तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) मालाको बजारमूल्यले यसको महत्व मात्र बढाएको मात्र छैन, किसान र व्यवसायीलाई उत्तिकै असुरक्षित र आतंकितसमेत बनाएको छ।
काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटाभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न थालेका छन्।
व्यवसायी भने पैदल वा गाडीमा असुरक्षित महसुस गदर्ैै हेलिकोप्टर चार्टर गरेर गाउँ पुग्न थालेका छन्।
मंगलबार अपराह्न शिखरअम्बोटेबाट १ सय ८१ किलो बोधिचित्त दाना ढुवानीका लागि स्थानीय तिलकबहादुर लामाले हेलिकोप्टर चार्टर गरे।
आइतबार मंगलटारबाट बोधिचित्तको माला लिएर बनेपातर्फ आउँदै गरेका व्यापारी राज दोङ बनेपा बुडोलमा लुटिएपछि व्यवसायीले असुरक्षा महसुस गरेका हुन्। गाउँमा ११ लाख रुपैयाँमा ८४ वटा माला किनेर टिपरमा बनेपा आउँदै गरेका लामाले ७२ वटा माला लुटिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
यस्तै, इलाका प्रहरी कार्यालय मंगलटारले पनि तिमालगाउँमा बोधिचित्तको दाना लुट्न खोज्ने तीनजनाको समूहलाई केही समयअघि पक्राउ गरेको थियो। बोधिचित्त प्रतिबन्धित वनस्पति नभएकाले प्रहरीले सार्वजनिक मुद्दा चलाएकोमा उनीहरु जनही १० हजार रुपैंया धरौटीमा छुटेका छन्।
बोधिचित्तका दाना र माला लुटपाट बढेपछि काभ्रेका प्रजिअ केदार न्यौपानेसहितको टोली हालै काभ्रे, तिमाल पुगेको थियो। टोलीमा जिल्ला वन कार्यालयका प्रमुख गणेश राय, जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसी, प्रमुख अनुसन्धान अधिकृत धनबहादुर बुढाथोकीसहित वन प्राविधिक थिए।
जिल्ला वन कार्यालयले शिखरअम्बोटे र तिमाल क्षेत्रका विभिन्न गाविसलाई यस प्रजातिको पकेट क्षेत्र मानेको छ। 'बोधिचित्त फलाउने किसानले सानो साइजको दाना भएको मालालाई प्रतिकिलो ५ हजार रुपैयाँसम्म पाउने रहेछन्। बिचौलियाले यसलाई बढाउँदा रहेछन्', प्रजिअ न्यौपानेले भने।
स्थलगत अनुगमन, वन कार्यालयको राय र बोधिचित्त रोपेका किसानको आग्रहपछि अनुगमनबाट फर्केका प्रजिअले निजी आवादीमा फलेको बोधिचित्त निकासीमा सुरक्षा दिने निर्णय गरेको छ।
'प्रत्येक उत्पादकले वनबाट छुट्टाछुट्टै छुटपुर्जी लिएर सामूहिक रुपमा जिल्ला बाहिर निकासी गर्न चाहेमा सुरक्षाका लागि प्रहरी पठाइदिने व्यवस्था मिलाएका छौं,' न्यौपानेले भनेे।
प्रशासनले सुरक्षा प्रत्याभूति दिने जनाए पनि किसान र व्यापारी सडकमार्गबाट खुलेआम निकासी गर्न सकेका छैनन्।
'काभ्रे प्रहरीले सुरक्षा दिन्छु भन्दा समेत शिखरअम्बोटेबाट उनीहरुले काँचो दाना नै हेलिकोप्टरमा लगेको बुझिएको छ', जिल्ला वन अधिकृत गणेश रायले भने।
लामाले निजी आवादीको जग्गामा फलेको बोधिचित्त दानाका निम्ति वन कार्यालयबाट छुटपुर्जी लिएका थिए। कार्यालयले बयर प्रजातिको भद्राक्ष भन्दै उनीसँग मूअकसहित प्रतिकिलो ९ रुपैयाँ राजस्व लिएको छ।
लामा गुरु र तामाङ समुदायले जपध्यान गर्न बोधिचित्त माला उपयोग गर्छन्। उत्पादन हुने गाउँमा २ सय देखि ५ हजार रुपैंयासम्ममा कारोबार हुने बोधिचित्त माला काठमाडौं हुँदै चीनसम्म पुग्ने गरेको छ। चीनमा पुग्दा सबैभन्दा सानो साइज ८ मिलिमिटरको एउटा मालाको १ देखि डेढ लाखसम्म पाउने व्यवसायी बताउँछन्।
बोधिचित्त के हो?
जिल्ला वन कार्यालयका प्रमुख गणेश रायका अनुसार काभ्रेका तिमाल र आसपासका गाउँमा फल्ने बोधिचित्त बयर प्रजातिको फल हो। हालसम्म ती स्थानमा निजी आवादीमा मात्रै केही संख्यामा यस्ता रुख छन्।
वन ऐनको अनुसूचीमा समावेश नभएकाले जिल्ला वन कार्यालयले राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीले परिभाषित गरे अनुसार 'बोलचालीको भाषामा बोधिचित्त भनिए पनि यो भद्राक्ष प्रजाति हो। यसको वानस्पतिक नाम 'जिजिफस स्पेसी' ९श्ष्शथउजगक कउ।० हो।
प्रत्येक मालामा १ सय ८ वटा दाना राखिन्छ। 'गाउँभरिकै बोटको जम्मा गर्दा सानो साइजको एउटा माला पुग्न गाह्रो हुने रहेछ। यसैले पनि बढी मूल्य भएको होला,' रायले भने।
भदौमा मात्रै फल टिप्ने गरेको स्थानीयले माग आएपछि दाना परिपक्व नहुँदै टिप्न थालेका छन्। यस्तो दानालाई उनीहरुले ढिकीमा फलेर बोक्रा निकाल्ने गरेका छन्। घाममा राम्ररी सुकेको दानालाई मेसिनले प्वाल पार्दै माला बनाउने गरेका छन्।
'विगतमा केही समय हामीले भद्राक्ष भनेर राजस्व लियौं। तर, तामाङ समुदायबाट बोधिचित्त उल्लेख नगर्दा भाउ घट्ने भयो भन्दै दबाबसमेत दिएका थिए,' रायले भने।
विगतमा तिमालक्षेत्रमा मात्रै पाइने बोधिचित्तको बिरुवा जिल्लाका अन्यत्रसमेत लगाउन थालिएको छ। बजारमा २ सय देखि ५ सय रुपैयाँमा यसको बिरुवा बिक्ने गरेको छ।
प्रकाशित मिति: 2014-07-16 23:18:35
प्रतिक्रिया: