-बिष्णु तामाङ
तामाङ सोर्साईटी अफ अमेरिकाले 'तामाङ सञ्चार कोष' लाई १ लाख ८ हजार २४० रुपैयाँ सहयोग गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष इन्द्र तामाङ र पूर्व महासचिव शान्तबाबु थोकरले संयुक्त रुपमा उक्त रकम तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङलाई हस्तान्तरण गरेका छन् ।
समूहका संरक्षक एवं सोसाईटीका कोषाध्यक्ष ङिमा पाख्रिनको विशेष पहलमा सोसाईटीबाट सहयोग सम्भव भएको हो । कोषको लागि सोसाईटीका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु इन्द्र तामाङ, राम तामाङ र भरत लामा, वर्तमान कार्यवाहक अध्यक्ष फुर्वा तामाङ, सचिव अमर तामाङ, कोषाध्यक्ष ङिमा पाख्रिन,कार्यसमिति सदस्य छेमाङ तामाङ, पूर्व कोषाध्यक्ष रमला तामाङ, पूर्व सह-कोषाध्यक्ष प्रेम थोकर र सदस्य सानु लामाबाट आर्थिक सहयोग प्राप्त भएको सोसाईटीले जानकारी दिएको छ ।
सहयोग रकम ग्रहण गर्ने क्रममा बोल्दै समूहका अध्यक्ष दोङले प्राप्त रकम सञ्चारकोषमा जम्मा गरिने बताए । 'कोष स्थापना गर्न हामीले धेरै अघिदेखि प्रयास गरेका थियौँ, तामाङ सोसाइटी अफ अमेरिकाबाट प्राप्त यो रकमले कोषको जग खडा भएको छ' - उनले भने । तामाङ सञ्चारकर्मीहरुलाई आइपर्ने आकष्मिक समस्या, दूर्घट्ना वा जटिल अवस्थामा स्वस्थ्य उपचारका लागि कोषबाट राहत उपलब्ध गराउने मुख्य उदेश्य रहेको अध्यक्ष दोङले जानकारी दिए । सहयोगका लागि तामाङ सोसाइटी अफ अमेरिकालाई धन्यवाद दिँदै उनले प्राप्त सहयोगले तामाङ सञ्चारकर्मीहरुलाई आफ्नो समुदायको लागि अझ सक्रिय रहन हौसला मिलेको बताए ।
देशभरका विभिन्न सञ्चार माध्यममा क्रियाशिल तामाङ सञ्चारकर्मीहरुको साझा सङ्गठन सञ्चार समूहको १५ जिल्लामा शाखा रहेको अध्यक्ष दोङले जानकारी दिएका छन् । समूहमा चार सय भन्दा बढी सञ्चारकर्मीहरु आवद्ध रहेको उनले बताए ।
सोसाईटीका पूर्व अध्यक्ष तामाङले तामाङ सञ्चारकर्मीहरुलाई हौसला प्रदान गर्न कोष स्थापनामा सहयोग गरेको जानकारी दिए । तामाङ समुदायको आवाज बुलन्द गर्ने सञ्चार क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुलाई सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।
४० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका तामाङले आफन्तजन, शुभचिन्तक, कलाकार र सञ्चारकर्मीहरुसँग विशेष भेटघाट गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा तामाङ कलाकारहरुले साङ्गीतिक प्रस्तुति राखेका थिए ।