कामदारलाई अभिमुखीकरण तालिम सरकारले दिने
Admin / 2014-07-15 02:10:06
काठमाडौं-वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम सरकार आफैंले दिने तयारी गरेको छ।
अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो बढ्दै गएपछि मुख्य सचिव लीलामणि पौडेलले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई पत्र लेखी बोर्ड आफैंले तालिम दिन निर्देशन दिएका हुन्। गत साता मुख्य सचिवले बोर्डलाई उक्त तालिम व्यवस्थित बनाउन र आफैंले तालिम दिन अह्राए।
सोमबार श्रम तथा रोजगार मन्त्रालयमा राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बोर्ड बैठकमा आफैंले तालिम सञ्चालन गर्नेबारे छलफल भएको मन्त्रालय स्रोतले जानकारी दियो। मन्त्री गुरुङले अभिमुखीकरणलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रधानमन्त्रीको कार्यालयबाट मुख्य सचिवले पत्र पठाएको विषयमा छलफल गरेको बताए। बोर्डबाटै तालिम दिन आवश्यक पूर्वाधार र जनशक्तिका विषयमा अध्ययन गरेर निर्णय गरिने उनले बताए।
अभिमुखीकरण तालिम दिने संस्थाले प्रमाणपत्रमात्र बेच्ने तालिम चाहिँ नदिने गर्दा विदेशमा नेपाली कामदारको मृत्यु तथा दुर्घटना बढ्दै गएको भनेर आलोचना भइरहँदा सरकार आफैंले तालिम दिनेबारे वहस सुरु भएको छ।
बोर्डका सदस्यसमेत रहेका अभिमुखीकरण लोकतान्त्रिक संघका सदस्य तथा विन्दवासिनी अभिमुखीकरण तालिम संस्थाका सञ्चालक आकास रेग्मीले उनीहरुले भरपर्दो तालिम दिने अवस्था नरहेको भन्दै आफैं अग्रसर भएको बताए ।
बैठकमा बोर्डबाट तालिम दिने विषयमा छलफल भएको र केही व्यवसायीले शक्तिको आडमा काम नगर्दा त्यसको सजाय सबैले पाउन लागेको उनले बताए। सरकारले आफैं तालिम दिनुभन्दा पनि एक सय दुई अभिमुखीकरण तालिम संस्थाबाट छानेर थोरै बनाउने र अनुगमन प्रभावकारी बनाउनु उचित हुने उनले बताए। केही संस्थाबाट गलत काम भएको स्वीकार गर्दै रेग्मीले त्यस्ता संस्थालाई कारबाही गर्नुपर्ने बताए।
प्रकाशित मिति: 2014-07-15 02:10:06
प्रतिक्रिया: