बिजय सुनिश्चित देखिएका नेताहरु को को हुन?
Admin / 2014-07-14 22:03:41
काठमाडौं, ३० असार । एमालेको जारी महाधिवेशनमा नेताहरु प्यानलै बनाएर चुनाव लडेपनि परिणाम भने मिश्रित आउने देखिएको छ ।
अहिलेसम्मको मत प्रकृति हेर्दा उपाध्यक्ष र सचिवमा मिश्रित परिणाम आउने देखिएको हो ।
खासगरि, सचिवमा गोकर्ण विष्ट र प्रदीप ज्ञवाली निकै लोकप्रिय देखिएका छन् । विष्टले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पारेका छन् । विष्ट र ज्ञवाली दुवै गुल्मीका हुन् । ज्ञवाली एमालेमा वैचारिक रुपमा सशक्त नेता मानिन्छन् भने युवा संघका पूर्व अध्यक्ष समेत रहेका विष्ट उर्जा मन्त्री भएर लोकप्रिय बनेका हुन् । अहिलेसम्म यी दुई नेताको जित सुनिश्चितझैं देखिएको छ ।
उपाध्यक्षमा माधव नेपाल समूहबाट युवराज ज्ञवालीको बलियो सम्भावना देखिएको छ । यस्तै, भीम रावल र अष्टलक्ष्मी शाक्यमध्ये एक जना आउन सक्ने सम्भावना पनि छ ।
केपी ओली समूहबाट वामदेव गौतम, विद्या भण्डारी सशक्त दाबेदार देखिएका छन् ।
यता, महासचिवमा भने मतअन्तर निकै बढेको छ । महासचिवमा इश्वर पोखरेल भन्दा सुरेन्द्र पाण्डे ७६ मतले अघि देखिएका छन् ।
उपमहासचिवमा विष्णु पौडेल, घनश्याम भुसाल र शंकर पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, सचिवमा गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्बीसुब्बा गुरुङ र विष्णु रिमालको सम्भावना छ ।
प्रतिस्पर्धा कडा
अहिलेसम्म कुल १२ सय ९१ मतगणना सकिएको छ । मेचीदेखि नारायणीसम्म र जनवर्गीय संगठन मोर्चा तथा केन्द्रीय कमिटीको गणना सकिएको छ । नेपाल समूहले कडा प्रतिस्पर्धा भएपनि आफ्नो जित सुनिश्चित देखिएको छ ।
अब गण्डकी, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको ८०० मत गन्न बाँकी छ । कर्णाली बाहेक अन्य ठाउँमा आफ्नो क्षेत्रमा वर्चश्व रहेकाले एक सय भन्दा बढी मतले जित्ने ओली समूहको दाबी छ ।
अध्यक्ष, उपाध्यक्षमा तीन, महासचिव, उपमहासचिव र सचिवमा तीन जनाले आफ्नो पक्षबाट जित्ने ओली समूहले दाबी गरेको छ ।
प्रकाशित मिति: 2014-07-14 22:03:41
प्रतिक्रिया: