विश्वकप फुटबलको फाइनल खेल आज हुँदै
Admin / 2014-07-13 03:40:07
नेपाल ब्युरो– असार २९, एजेन्सी ।
विश्वकप फुटबलको फाइनल भिडन्त आज हुँदैछ ।
ब्राजिलको रियो दि जेनेरियास्थित माराकाना रङ्गशालामा आज राति १२:४५ बजे हुने खेललाई दक्षिण अमेरिकाविरुद्ध युरोपको प्रतिष्ठाको लडाइँका रुपमा समेत लिइएको छ । तीन पटकको विश्वकप विजेता जर्मनी र दुई पटकको विश्वकप विजेता अर्जेन्टिना उपाधिका लागि तेस्रो पटक भिड्न लागेका हुन् ।
यसअघिका दुई विश्वकप अन्तिम भिडन्तमा परेका दुवै टोलीले एक एक खेलमा उपाधि जितेका थिए ।
अर्जेन्टिना यस पटकको विश्वकप जित्दै ह्याट्रिक गर्ने दाउमा छ भने जर्मनी चौथो पटक उपाधि जित्दै इटालीसँग बराबरी गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । दुवै टोली २४ वर्षको लामो अन्तरालपछि अन्तिम खेलमा आमनेसामने हुन लागेका छन् । जारी प्रतियोगिताको सेमिफाइनल खेलमा जर्मनीले ब्राजिललाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने अर्जेन्टिनाले नेदरल्यान्डसलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै अन्तिममा जर्मनीसगँको भेट पक्का गरेको हो ।
यसैबीच बिहान भएको विश्वकप फुटबल प्रतियोगिताका तेस्रो स्थानको खेलमा नेदरल्याण्ड विजयी भएको छ । ब्राजिललाई ३ गोलले हराउँदै नेदरल्यान्डस तेस्रो स्थान हाीसल गर्न सफल भएको हो ।
आज राति हुने २० औं विश्वकप फुटबल् समापन समारोहमा विश्वभरका करोडौं दर्शकले फुटबल मात्रै होइन साकिराको जादुमय प्रस्तुति पनि हेर्न पाउनेछन् फिफाले यसपटक साकिरालाई विश्वकपको आधिकारिक गीत गाउन नदिए पनि उनले व्यक्तिगत पहलमा ब्राजिल् विश्वकपबारे गीत गाएकी छन् ।
रियो दी जेनेरियोस्थित माराकाना रंङगशालामा हुने फाइनल् अघि साकिराले यही गीत गाउनेछिन् ।
प्रकाशित मिति: 2014-07-13 03:40:07
प्रतिक्रिया: