आदिकवि भानुभक्त आचार्यको जन्मदिन आज मनाइँदै
Admin / 2014-07-13 03:11:46
नेपाल ब्युरो–असार २९,काठमाडौँ ।
नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसय एक औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।
आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो ।
यसैवीच आदिकवि भानुभक्तको जन्मजयन्तीको उपलक्ष्यमा आज रानीपोखरीको दरवार हाइ स्कुलस्थित उहाँको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली शिक्षा परिषदले आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ तथा साहित्यकारहरूले भानुभक्तको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्बाङले आदिकविले नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न ठूलो योगदान गर्नुभएको चर्चा गर्दै नेपालीले उहाँलाई सदैव उच्च सम्मानका साथ स्मरण गर्नुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकमा बसोवास गर्ने सम्पूर्ण जाति समुदायका बीचमा सहयोग र सद्भाव कायम गरी नेपाललाई व्यावहारिक रूपमा अघि बढाउन सकेमा आदिकविप्रति गरेको सम्मान सार्थक हुने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा वरिष्ठ बरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: 2014-07-13 03:11:46
प्रतिक्रिया: