सुराकीलाई दिनु पर्ने रकम हाकिमहरुले बांडे
Admin / 2014-07-12 23:52:29
काठमाडौ, २९ असार । दुई वर्षअघि बरामद भएको सुनमा सुराकीले पाउनु पर्ने रकम राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोका थोरै हाकिमले बाँडेर खाएपछि आन्तरिक छानविन गरिएको छ । सुन सुराकी काण्डको छानविन नाम दिइएको यो प्रकरणमा पटक पटक गरी बरामद सुनमा सुराकीका नाममा आएको रकमको हिसाब बेपत्ता छ ।
२०६९ पुसमा बरामद भएको एक किलो र त्यसको केही महिनापछि बरामद पाँच किलो सुनमा भन्सार ऐनअनुसार पाउने ४५ लाख सुराकी तथा प्रतिवेदन खर्च बीचैमा हराएपछि ब्युरोले छानविन गरेको थियो । एक किलो सुन बरामद गर्दा ११ जना प्रहरी र ३८ जना राजस्वका कर्मचारीलाई सुराकी रकम पाउने सूचीमा थिए । भन्सार ऐनअनुसार बरामद सुनको बजार मूल्यको २० प्रतिशत प्रतिवेदक खर्च र १५ प्रतिशत सुराकी खर्च दिइन्छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक खुमराज पुञ्जालीले कानुनमा यति नै प्रतिवेदक हुनु पर्ने उल्लेख नभएकाले आवश्यकता अनुसार राख्ने चलन भएको वताए । केन्द्रीय अनुसन्धान विभागका एसपी सुरेश शाहको संयोजकत्वमा गठित छानविन टोलीले बरामद गरेबापत ब्युरोलाई आउनु पर्ने ४५ लाख रुपैयाँमा ९ लाख रुपैयाँमात्र आएको पत्ता लागेको छ । विभागका महानिर्देशक पुञ्जालीले भने यसबारेमा कुनै प्रश्न सोधिएको जानकारीमा नभएको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट -
प्रकाशित मिति: 2014-07-12 23:52:29
प्रतिक्रिया: