आर्थिक बर्ष २०७१ / ७२ को बजेटको तयारी अन्तिम चरणमा
Admin / 2014-07-12 05:18:30
नेपाल ब्युरो–असार २८,काठमाडौँ ।
आगामी आर्थिक बर्ष २०७१ / ७२ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।
भोलि आइतबार दिउसो ४ वजे अर्थमन्त्री डाक्टर रामशरण महतले व्यवस्थापिका संसदमा पेश गर्ने आगामी बर्षको बजेटको आज दिनभरीमा तयारी सकिने अर्थमन्त्रालयले जनाएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि ५ खर्ब ९६ अर्बको सिमा दिएपनि बजेटको आकार सिमा भन्दा झण्डै १५ अर्ब वढ्ने भएको छ ।
यो बर्षको बजेटमा हुने बचत, राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बढ्ने सम्भावनाका कारण स्रोत बढेकोले बजेटको आकार ६ खर्ब १० अर्ब भन्दामाथि जाने देखिएको मन्त्रालयले जनाएको छ ।
सभासदले सिधै खर्च गर्न पाउनुपर्ने गरि ५ करोड मागेपछि लामो समय छलफलमा रहेको अर्थमन्त्रालयले सभासदहरुको माग सम्बोधन गर्न विचको बाटो तय गरेको छ ।
सभासदको मागलाई सम्बोधन गर्ने गरि एउटा निर्वाचन क्षेत्रमा कम्तिमा ५ करोड रुपैयाँ जाने व्यवस्था मिलाईएको छ । त्यसको खर्च भने सभासदले सिधै नगरि सरकारी निकायले गर्ने बताइएको छ ।
यसैवीच फजुल खर्चमा मितव्यायिता अपनाउने तथा भष्ट्राचारमा शून्य सहनशीलता कायम गर्ने घोषणा गरेको सरकारले चालु आर्थिक वर्षको जेठमा मात्र एक करोड ७२ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको खुलासा भएको छ ।
विभिन्न राजनीतिक दलका नेता एवं पूर्वमन्त्रीदेखि निजामती कर्मचारी, तीनका परिवारका सदस्य, विभिन्न घटनाका घाइतेका नाममा सरकारले यो रकम बाँडेको हो ।
अर्थमन्त्रालयका अनुसार सरकारले विभिन्न घटनामा घाइते तथा अंगभंग भएका व्यक्तिको उपचार, औषधि खर्च तथा क्षतिपूर्तिका रूपमा एक महिना यति ठूलो रकम बाँडेको हो ।
आर्थिक सहायता शीर्षकमा बाँडिएको यो रकम विभिन्न मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार निकासा दिइएको छ । मन्त्रिपरिषद्को निर्णयमा आर्थिक सहायता पाउनेमा संविधानसभा निर्वाचनका घाइतेदेखि, सर्वसाधारण, कर्मचारी, नेता, सासंद र पूर्वमन्त्रीहरू रहेका छन् ।
प्रकाशित मिति: 2014-07-12 05:18:30
प्रतिक्रिया: