प्रत्येक दिन १ हजार ५ सय नेपाली विदेशिदै
Admin / 2014-07-11 03:57:42
नेपाल ब्युरो–असार २७,काठमाडौँ ।
रोजगारीका लागि प्रत्येक दिन १ हजार ५ सय नेपाली विदेशिने गरेको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।
अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आन्तरिक रोजगारीको अवसर नपाएर विदेशिनेहरुमा ७४ प्रतिशत अदक्ष रहेका छन । कामको खोजीमा बिदेश जानेहरुमा एक प्रतिशत मात्र दक्ष जनशक्ति छन भने २५ पतिशत अर्धदक्ष रहेका छन ।
बार्षिक ४ लाखभन्दा बढी नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेका छन तर, रोजगार बृद्धि दर भने २ दशमलब ९ प्रतिशत छ ।
बैदेशिक रोजगारीका लागि हालसम्म १०९ मुलुक खुला गरिएको छ । ११ लाख ९२ हजार ९ सय २४ जना श्रम स्वीकृति लिएर भारतबाहेकका देशमा रोजगारीमा गएका छन । जसमा ६१ हजार ८७ महिला छन ।
सरकारको तथ्यांक अनुसार सबैभन्दा बढी कतारमा २ लाख २६ हजार ७०७, मलेसियामा १ लाख ६८ हजार ७१, साउदीमा ७३ हजार २९७ र यूएयमा ९५ हजार ५८७ जनाले रोजगारीका लागि पूर्व स्वीकृति लिएका छन ।
यसैवीच अनुकूल मौसमका कारण खाद्यान्न उत्पादन बढेर मुलुकको अर्थतन्त्र ५ प्रतिशतभन्दा बढीले विस्तार हुने प्रक्षेपण गरिएको छ । चालू आर्थिक वर्षमा ६ वर्षयताकै उच्च वृद्धि हुने आर्थिक सर्वेक्षणले देखाएको हो ।
५ दशमलव २ प्रतिशत आर्थिक वृद्धिदर २०६४ / ६५ यताकै उच्च हो । गत वर्ष एक प्रतिशत मात्रैले बढेको कृषि उत्पादन यस वर्ष ४ दशमलव ६ प्रतिशतले विस्तार हुने सर्वेक्षण औल्याएको छ ।
गत मनसुनमा समयमै वर्षा हुँदा बर्खे बालीको उत्पादनमात्रै ८ लाख टनले बढेको थियो । अर्थतन्त्रमा ५० प्रतिशतभन्दा बढी हिस्सा राख्ने सेवा क्षेत्रको विस्तार पनि उच्च छ । यसको वृद्धिदर ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण छ ।
प्रकाशित मिति: 2014-07-11 03:57:42
प्रतिक्रिया: