एमालेको नयाँ नेतृत्वका लागि मतदान भोलि हुने
Admin / 2014-07-10 08:19:25
नेपाल ब्युरो–असार २६, काठमाडौँ ।
नेकपा एमाले को नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले आज उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेपालको प्रस्तावकमा नितेश नन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई तथा ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थकमा डा राजन भट्टराई रहनुभएको छ । ओलीले पहिला उम्मेदवारी दर्ता गराउनुभएको हो ।
ओली समूहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल्ऽ, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेल् यसअघि नै घोषित भइसक्नुभएको छ । उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ उठ्नुभएको छ ।
नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र एक स्थानलाई खाली राखी घोषणा गरेको छ । रिक्त एक उपाध्यक्षमा अध्यक्ष झलनाथ खनालसँग परामर्श गरेर परशुराम मेघी गुरुङ वा राजेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने तयारी भएको छ ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यको नाम तय भएको छ भने बाँकी एक सचिवमा प्रकाश ज्वाला वा श्रीमाया थकाली उठ्ने सम्भावना छ ।
नेपाल पक्षबाट अनुशासन आयोगको अध्यक्षमा पुनः अमृत बोहोरालेनै उम्मेदवारी दिनुभएको छ । मतदान भने भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-10 08:19:25
प्रतिक्रिया: