इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन नेपाल र जापानबीच सन् २००३ मा सहमति भएको थियो। उक्त सहमतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा म्यानपावरलाई कामदार पठाउन समस्या परेको हो। वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले बजार प्रवद्र्धनका लागि ध्यान दिन सकेको छैन् भने व्यवसायीलाई बजार खोज्नसमेत समस्या परेको छ।
हाल दैनिक १ हजार ७ सय बढी युवा रोजगारीका लागि मलेसिया तथा खाडी मुलुक पुग्ने गरेका छन्। जापान आकर्षक मुलुक भए पनि बजार प्रवद्र्धन हुन नसक्दा युवा जापान जान नपाएका हुन्। सम्झौताका क्रममा प्रशिक्षार्थी कामदार पठाउन केही म्यानपावर एजेन्सी र नेपाल उद्योग वाणिज्य महासंघलाई अनुमति दिएको थियो। महासंघले अहिलेसम्म जम्मा २० जना कामदारलाई मात्र जापान पठाएको छ। यसैगरी वैदेशिक रोजगार व्यवसायीले करिब २ सय ८० युवालाई मात्र जापान पठाएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले जिट्कोमार्फत् कामदार पठाउने प्रक्रिया अन्य मुलुकहरूको भन्दा निकै बढी झन्झटिलो र भिसा आउन ढिलाइ भइरहेकाले पनि जिट्कोमार्फत् नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन नसकिएको बताउनुभयो।
उहाँले जिट्कोअन्तर्गत नेपाली कामदारलाई रोजगारीको राम्रो सम्भावना भए पनि जिट्कोले भने अनुसार प्रक्रियामा समेत फरक परेको, म्यानपावरले खोजेको बजार सम्झौता त्यहाँका एजेन्सीसँग गर्नुपर्ने, बजार प्रवद्र्धन महँगो, भाषिक समस्यालगायतका कारणले सोचेअनुसार माग ल्याउन र कामदार पठाउन
नसकिएको उहाँको भनाइ छ। म्यानपावर कम्पनीलाई रोजगारदाता कम्पनीले दिने भनेको सेवाशुल्क त्यहाँका एजेन्सीले खाइदिने, तोकिएको लागतले बजार प्रवद्र्धन खर्च नपुग्ने, भिसा दिन बढी समय लगाउने गरेका कारणले यो प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको महासचिव तामाङले बताउनुभयो।
सरकारले निर्धारण गरेको प्रतिव्यक्ति ५० हजार रुपियाँको लागत खर्चले बजार प्रवद्र्धनसमेत नधान्ने भएकाले प्रभावकारी रूपमा कामदार पठाउन नसकिएको उहाँको भनाइ छ।
अहिले जिट्कोका लागि जापानमा वार्षिक २ हजार ३ सय जना कामदारको माग रहे पनि नेपालले भने सम्झौता भएको ११ वर्षभित्र ३ सयजना मात्र पठाउन सकेको छ।
जिट्कोमार्फत् कामदार पठाउने कार्यलाई आकर्षित बनाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले व्यवस्थित रूपमा बजारीकरण गर्न आवश्यक भएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष टंक राउतले बताउनुभयो। जिट्कोमार्फत् नेपाली कामदार जापान पठाउने कार्यमा अन्य मुलुकमा भन्दा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ हुने गरेको उहाँको भनाइ छ।‘भिसा आउन समय लाग्छ, धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले झन्झटिलो छ’ उहाँले भन्नुभयो।
एजेन्सीका प्रतिनिधिलाई भिसा दिन समस्या भएकाले कामदारको माग ल्याउन समस्या परेको व्यवसायी राउतले बताउनुभयो। जापानमा बजार प्रवद्र्धन गर्न जान भिसा समस्या हुने भएकाले हाल भइरहेको प्रक्रियामा भिसा सहजीकरण हुन सके बजार प्रवद्र्धन गर्न सजिलो हुने र कामदार पठाउने प्रक्रियासमेत छिटो हुने उहाँको भनाइ छ।
जापानका लागि भिसा लाग्नसमेत नौ महिनादेखि एक वर्षसम्म लाग्ने भएकाले व्यवसायीहरूले जिट्कोमार्फत् कामदार पठाउन चासो नदेखाएको व्यवसायी स्वीकार गर्छन्।
नेपाल समाचार पत्रबाट