केन्द्रमा दुई र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्नेमा संविधानसभाभित्र बहस
Admin / 2014-06-25 07:53:55
नेपाल ब्युरो–असार ११,काठमाडौ । प्रमुख दलका सभासदहरुले केन्द्रमा दुई तथा प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्नेमा जोड दिएका छन् ।
संविधानसभाको आजको बैठकमा व्यवस्थापिका–संसद्को स्वरुपका विषयमाथिको छलफलमा भाग लिदै नेपाली काँग्रेसका सभासद मानबहादुर बिश्वकर्माले व्यवस्थापिका दुई सदनात्मक हुनुपर्ने भन्दै समानुपातिक प्रतिनिधित्वका विषयमा सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका सभासद अमृतकुमार बोहराले व्यवस्थापिका दुई सदनात्मक हुनुपर्ने भन्दै त्यसमा राष्ट्रले धान्न सक्ने संख्या तोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले बिगतको निर्वाचन प्रणाली जटिल भएकाले निर्वाचनलाई सरल र सजिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय समाजवादी पार्टीका सभासद अशोक राईले केन्द्रमा दुई तथा प्रदेशमा एक सदन भए पुग्ने धारणा राख्दै जनताबाट जनसंख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
तत्कालीन व्यवस्थापकीय अङगको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निक्र्यौल सम्बन्धि प्रतिवेदन, २०७१ माथि एकीकृत रुपमा संविधानसभामा सोमबारबाट छलफल सुरु भएको थियो ।
प्रकाशित मिति: 2014-06-25 07:53:55
प्रतिक्रिया: