युक्रेनमा विद्रोहीको आक्रमणमा परी ९ जनाको मृत्यु
Admin / 2014-06-25 04:13:16
नेपाल ब्युरो–असार ११, एजेन्सी ।
युक्रेनमा सरकारले घोषणा गरेको एकतर्फी युद्दविराम स्वीकार गरेका विद्रोहीले सैनिक हेलिकप्टरमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।
युक्रेनको पूर्वी शहर स्लोभानिस्कमा सैनिक हेलिकप्टर उडे लगत्तै विद्रोहीको रकेट आक्रमणमा परेको बिबिसिले जनाएको छ । युद्धविराम घोषणा भए पनि सरकारी फौज र विद्रोहीबीच लगातार हिंसात्मक घटनाहरु भईरहेका छन् । यसैबीच युक्रेनी राष्ट्रपति कार्यालयले विद्रोहीले हिंसात्मक गतिविधि नरोके युद्दविराम अन्त्य गर्नेबारे सोच्न सकिने चेतावनी दिएको छ ।
उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य हस्तक्षेप गर्ने निर्णय उल्ट्याउन संसदलाई आग्रह गर्नु भएको छ । गत मार्च १ मा संसदले युक्रेनमा सेना परिचालन गर्न रुसी राष्ट्रपतिलाई अधिकार प्रदान गरेको थियो । युक्रेनका पूर्वी क्षेत्रहरुमा सरकारी सेना र रुसी भाषी पृथकतावादीहरुबीच भीषण संघर्ष भैरहेको छ । पुटिनले द्धन्दग्रस्त पूर्वी युक्रेनको अवस्था सामान्य बनाउने प्रयास स्वरुप पछिल्लो कदम चालेको उनका प्रेस सल्लाहकारले बताएका छन् ।
युक्रेनले भने पुटिनको कदमलाई पूर्वी क्षेत्रमा जारी संकट समाधानमा पहिलो व्यवहारिक कदम भएको प्रतिक्रिया दिएको छ । कियभको एकपक्षीय युद्धविराम लगायतका शान्ति योजनालाई पुटिनले औपचारिक समर्थन गरेपछि रुसी राष्ट्रपतिको पछिल्लो कदम आएको जनाइएको छ ।
प्रकाशित मिति: 2014-06-25 04:13:16
प्रतिक्रिया: