एमएम ६० जहाजको आजबाट व्यावसायिक उडान सुरु
Admin / 2014-06-25 03:41:19
नेपाल ब्युरो–असार ११, काठमाडौँ।
नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाजको आजबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको थियो ।
व्यावसायिक उडान अन्र्तगत आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो जहाज विराटनगरका लागि उडेको थियो । जहाजमा २५ यात्रु सवार थिए । निगमले विराटनगरका लागि तीन हजार ५ सय ५ एकतर्फी भाडादर तय गरेको छ । अति व्यस्त हुने स्थानअन्तर्गत निगमले पहिलो चरणमा विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा दिने जनाएको छ ।
निगमले तय गरेको भाडा दर अन्य सेवा प्रदायक विमान कम्पनीको तुलनामा केही सस्तो रहेको छ । पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत बुधबारबाट व्यावसायिक उडान सुरु गरिएको र विस्तारै थप गर्दै लैजाने निगमको योजना रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमलाई छिटो जहाज उडाउन दबाब दिँदै आएको थियो । आयोगले निगमलाई यही असार १५ गतेसम्म व्यवसायिक उडान गर्न निर्देशन दिएको थियो ।
प्रकाशित मिति: 2014-06-25 03:41:19
प्रतिक्रिया: