रियो दि जेनेरियो : पाँच पटकको विजेता ब्राजिल जारी विश्वकप फुटबलमा नकआउट चरण पुगेको छ। समुहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले सोमबार राती क्यामरुनलाई ४-१ गोलले पराजित गर्यो र समुह विजेताका रुपमा प्रिक्वार्टरफाइनल पुग्यो। घरेलु टोलीले अब अगाडी बढ्न चिलीको सामना गर्नुपर्ने छ।
ब्राजिललाई अगाडी बढ्न कम्तिमा बराबरीको नतिजा चाहिएको थियो। तर नेमारले दुई तथा फर्नान्डिन्हो र फ्रेडले एक एक गोल गरे। नेमारले पहिलो हाफमा दुवै गोल गरेका थिए। १७ औं मिनेटमा नेमारले पहिलो गोल गरेपछि खेलमा सुरुआती अग्रता लिएको ब्राजिल २६ औं मिनेटमा बराबरीमा पुग्यो। नेमारले ३५ औं मिनेटमा पुन गोल गर्दै टोलीको फेरी अगाडी बढाए। जारी प्रतियोगितामा तिन खेलमा चार गोल गरेका नेमार सर्वाधिक गोल कर्ताको सुचिमा शिर्षस्थानमा छन।
समुह 'ए'मा ब्राजिल तिन खेलमा सात अंक जोडेर विजेता बन्यो। समान अंक भएको मेक्सिको गोल अन्तरमा पछि पर्दै समुहको उपविजेता बन्यो। चिली समुह 'बी' को उपविजेताका रुपमा ब्राजिलसँग अन्तिम १६ मा भिड्ने भएको हो। - एजेन्सी