नेपाल ब्युरो–असार ९,काठमाडौ ।
‘समयमै वहालकर तिरौं, दण्ड जरिवानाबाट बचौं’ भन्ने नारा सहित घरबहाल कर संकलनमा विशेष जोड दिदै आजदेखि ३ दिने कर शिविर सुरु भएको छ ।
काठमाडौ उपत्यकाका १५ वटा करदाता सेवा कार्यालय सहित देशभरका कर कार्यालय गरी ५० वटा ठाउँमा विशेष कर शिविर सञ्चालन हुने आन्तरिक राजस्व विभागले जनाएको छ ।
शिविरमा वहाल मार्फत आयआर्जन गरी वहालकर नबुझाउने व्यक्तिहरुलाई करको दायरामा ल्याउने, स्थायी लेखा नम्बर जारी गर्ने, करदाता शिक्षा प्रदान गर्ने, कर रकम तथा विवरण बुझ्ने, घरबहाल कर पुस्तिका बितरण लगायतका काम गरिने विभागले जनाएको छ ।
यो बर्ष २ अर्ब ३१ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा अहिलेसम्म २ अर्ब उठिसकेको छ ।
लक्ष्य अनुसार कर उठिरहे पनि घरबहालमा अझ धेरै उठ्न सक्ने सम्भावना रहेकोले जनचेतना बढाउन पनि शिविर चलाउन लागिएको विभागले जनाएको छ ।