एन्फाका प्रबिधिक निर्देशक थापाले राजीनामा गर्ने
Admin / 2014-06-21 04:36:08
काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक कृष्ण थापाले एन्फाको प्राविधिक निर्देशक पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले प्रशिक्षकहरूलाई बेवास्ता गर्दै मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै कारण पदमा बसिरहनुको अर्थ नभएको बताए।
२७ महिनादेखि प्राविधिक निर्देशकमा काम गरे पनि एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) बाट आएको पत्रसमेत आफूलाई नदिएको थापाको गुनासो थियो।
राष्ट्रिय टोलीका पूर्वखेलाडी थापाले आरोप लगाए, 'अध्यक्ष थापाले प्राविधिक पक्षलाई बेवास्ता गरेर राष्ट्रिय टोली छनोट गर्दै आएका छन्। विदेशी प्रशिक्षक नियुक्त गर्दा समेत प्राविधिक निर्देशकलाई थाहा हँुदैन। एएफसीको सुविधाअनुसार खेलाडी र प्रशिक्षकले पाउने भत्ता पनि पाइरहेका छैनौं।'
एएफसीले प्राविधिक निर्देशकका लागि मासिक १५ सय अमेरिकी डलर एन्फालाई पठाउने गरे पनि आफूले मासिक ८० डलरमात्र पाएको थापाले बताए। उनले भने, 'अध्यक्ष गणेश मेरा समकालीन हुन्। आफै खेलाडी भएकाले उनको नेतृत्वमा खेलाडी र प्रशिक्षकले राम्रो सुविधा पाउने आशा थियो। तर खेलाडी तथा प्रशिक्षकले आवश्यक सुविधा पाउँदैनन्।'
पूर्वप्रशिक्षकहरूले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फा अध्यक्ष थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखे। नेपाली फुटबलमा भइरहेको भ्रष्टाचार र असफलताबारे नेपाल सरकार र मिडियासमेत विशेष प्राथमिकतामा राख्नुपर्ने प्रशिक्षक अर्जुन लामाले बताए।
प्रकाशित मिति: 2014-06-21 04:36:08
प्रतिक्रिया: