नाचघरमा १८ बर्षपछि मुनामदन
Admin / 2014-06-21 04:04:40
ग्रामीण परिवेशको एक परिवार जो गरिबीसँग संघर्ष गर्दै बाँचेको छ। अभावलाई परिवारबाट टाढा राख्ने एक मात्रै विकल्प हो, भोट गएर धन कमाउनु। उक्त परिवारको मदन त्यही विकल्पलाई अंगीकार गर्दै आफ्नी प्राण प्यारी मुनालाई छोडेर भोटतिर लाग्छन्। विलियम शेक्सपियका रोमियो र जुलियटजत्तिकै लोकप्रिय पात्र हुन् नेपाली साहित्यका मुनामदन। त्यही मुनामदनका माध्यमबाट तत्कालीन नेपाली समाजलाई प्रस्तुत गरिएको खण्डकाव्य मुनामदनलाई गीति नाटकका रूपमा प्रस्तुत गरिएको छ। त्यसैको दृश्य हो माथिको। नाटकको माहोलले राजधानी तातिरहेका बेला सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले ४२औं वार्षिकोत्सवको अवसरमा बिहीबारबाट एक महिनासम्मका लागि मुनामदन गीति नाटकको मञ्चन शुरू गरेको छ। महाकवि लक्ष्मिप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको फेरि मञ्चन शुरू गरिएको हो। नाटकमा नेपालीहरू रोजगारीका लागि परदेश जानुपर्ने परिस्थितिलाई प्रस्तुत गरिएको छ। मदन आफ्नो परिवारलाई छोडेर भोट लाग्छन्। उनले मुनासँग भोटबाट छिट्टै फर्कने बाचा गरे पनि लामो समय नफर्कंदा गाउँलेले मुनालाई मदनका बारेमा नानाभाँतीका कुरा लगाउँछन्। तर मुना भने मदनप्रति यत्ति प्रतिबद्ध र विश्वस्त छिन् कि उनी कसैको कुरा सुन्दिनन्।
साथीहरूसँग फर्कने क्रममा बाटैमा बिरामी परेपछि साथीहरूले मदनलाई जंगलमै छाडिदिन्छन्। हिमाली भूगोलको जंगलमा उनी एक्लै भएपछि झन् बिरामी पर्छन् र मरणासन्न अवस्थामा पुग्छन्। तर स्थानीय भोटे समुदायको दुई व्यक्तिले उनलाई भेट्छन्। त्यसपछि मदनले ती भोटेहरूलाई बाचाइदिन अनुरोध गर्दै भन्छन्– ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’ त्यसपछि भोटेहरू मदनलाई लिएर आफ्नो घर जान्छन्। उपचार गरेर उनलाई तन्दुरुस्त बनाउँछन्। हिँड्ने बेलामा मदनले भोटमा कमाएर ल्याएको दुईमध्ये एक थैला ती भोटेलाई गुण तिर्नका लागि दिन्छन्, तर भोटे आफ्नै स्वाभिमानका साथ बाँच्ने भएकाले उक्त सुनको लोभ गर्दैनन्। मदन ती भोटेको घरबाट उनको गुणलाई कहिल्यै नबिर्सने बाचाका साथ आफ्नो घर फर्कन्छन्।
मदन जब आफ्नो घरमा आइपुग्छन्, त्यहाँ उनको आमा सिकिस्त बिरामी हुन्छिन् भने मुना पनि देखिन्नन्। केहीबेरको बिलौनापछि मदनकी आमा संसारबाट बिदा हुन्छिन्। त्यसपछि देखा पर्छिन् मदनकी दिदी। मुनाका बारेमा मदनले आफ्नी दिदीलाई अनेक गरी सोध्छन्। दिदीले सांकेतिक रूपमा मुनाले पनि संसार छाडेको बारबार बताउँछिन्, तर मदनले विश्वास गर्न सक्दैनन्। नाटक वियोगान्त रूपमा अन्त्य हुन्छ। १८ वर्षपछि पुनः मञ्चन गरिएको गीति नाकटकको निर्देशन प्रभाकरदेव शर्माले गरेका छन् भने उनीसँगै शारदा सिलवाल, विजय मानन्धर, अञ्जु रञ्जित, रमेश केसी, सीता कार्की, माया थापा, मनोज जोशी, मिसन थापा, कामना सिलवाल र गोरन चौधरीले अभिनय गरेका छन्। नाटकलाई कला भूषण चन्द्रराज शर्माको संगीत तथा नारायण गोपाल, माणिकरत्न, तारा देवी, कमला श्रेष्ठ, भुवन चन्द, इन्द्रनारायण मानन्धर, गणेश रसिक, नवीन राईजस्ता गायकगायिकाको स्वरले झनै सुनमा सुगन्ध थपेको छ। नाटकको शुभारम्भ उपराष्ट्रपति परमानन्द झाले गरेका थिए। कार्यक्रममा बोल्दै उनले भने– ‘मैले धेरै वर्षअघि यो नाटक हेरेको थिएँ।’ कार्यक्रममा संस्थानका महाप्रबन्धक शालिकराम तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने संस्कृति मन्त्रालयका सचिव सुशील घिमिरेले प्रविधिको विकासका कारण नाटक मञ्चनमा कमी आएको परिस्थितिमा यसरी नाटक मञ्चन गर्नु सकारात्मक भएको चर्चा गरेका थिए।
प्रकाशित मिति: 2014-06-21 04:04:40
प्रतिक्रिया: