काठमाडौं उपत्यकाको उपभोग खर्च साढे चार खर्ब
Admin / 2014-06-17 08:44:05
नेपाल ब्युरो–असार ३,काठमाडौ ।
कूल जनसंख्याको करिब १५ प्रतिशत बसोबास गर्ने काठमाडौं उपत्यकाले देशको कूल उपभोगको ३४ प्रतिशत उपभोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजानिक गरेको सर्वेक्षमा यस्तो देखिएको हो । केन्द्रीय बैंकले सन् २०१० र २०११ लाई आधार मानेर गरेको सर्वेक्षण अनुसार काठमाडौं उपत्यकाको अन्तिम उपभोग खर्च ४ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यो कूल राष्ट्रिय खर्चको ३४ प्रतिशत हो ।
पुँजी निर्माणमा भने उपत्यकाको योगदान १५ प्रतिशत रहेको र देशको कूल आर्थिक गतिविधिको २३ प्रतिशत हिस्सा उपत्यकामा हुने गरेको सर्वेक्षणले देखाएको छ । अध्ययन वर्षमा उपत्यकामा ३ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबरको आर्थिक क्रियाकलाप भएको छ ।
प्रतिवेदनअनुसार अध्ययन वर्षमा ५ खर्ब २६ करोड लाख रुपैयाँ बराबरको विद्युत काठमाडौं उपत्यकामा मात्रै उपभोग गरिएको छ । यो कूल राष्ट्रिय विद्युत उपभोगको २९ प्रतिशत हो ।
अध्ययन वर्षमा २४ अर्ब ७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको उपभोग काठमाडौं उपत्यकाले गरेको छ । सोमध्ये पेट्रोल ४५ प्रतिशत, डिजेल १५ प्रतिशत, मट्टीतेल ३७ प्रतिशत र एलपीजी ग्याँस ६० प्रतिशत खपत उपत्यकाले गरेको छ । यो कूल पेट्रोलियम उपभोगको ३० प्रतिशत हो । सो वर्ष देशभर ७८ अर्ब ४४ करोड रुपैयाँको पेट्रोलियम पदार्थको उपभोग भएको थियो ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा कूल निक्षेपको ६० प्रतिशत र कूल कर्जाको ४४ प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको छ । अध्ययनमा एक महानगरपालिका, एक उपमहानगर पालिका, तीन नगरपालिका र एक सय १४ गाउँ विकास समितिका ६ लाख ५६ हजार घरपरिवारमा सर्वेक्षण गरिएको थियो ।
प्रकाशित मिति: 2014-06-17 08:44:05
प्रतिक्रिया: