संसद बैठकमा आज पनि पूर्व बजेटबारे छलफल
Admin / 2014-06-17 03:29:48
नेपाल ब्युरो–असार ३, काठमाडौँ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका विषयवस्तु बारे आज पनि व्यवस्थापिका संसद बैठकमा छलफल हुने भएको छ ।
छलफलका लागि व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकमा धारणा राख्दै सभासदहरुले गरिबी घटाउने, उत्पादकत्व बढाउने क्षेत्रमा लगानी बढाउन, कृषिको आधुनिकीकरण गर्दै रोजगारीका लागि विदेशीने युवालाई स्वदेशमै काम र दामको अवसर उपलब्ध हुनेगरी बजेट सार्वजनिक गर्न सुझाव दिइरहेका छन् ।
आर्थिक समृद्धिका कार्यक्रम, साझा आर्थिक कार्यसूची, खुला आर्थिक नीतिको अवलम्बन गर्न र निजी सम्पत्तिलाई राष्ट्रियकरण नगर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गर्दै सर्वसाधारणको जीवनस्तर उकास्ने गरी बजेट आउनुपर्नेमा सभासदहरुले जोड दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी लगायत दलका सभासदहरुले भने अर्थ मन्त्रालयले पूर्व बजेट छलफलका निम्ति उपलब्ध गराएको दस्तावेजमा गरिबी घटाउने उपाय र कार्यक्रम स्पष्ट उल्लेख नभएका भन्दै आलोचना गर्दै आएका छन् ।
प्रकाशित मिति: 2014-06-17 03:29:48
प्रतिक्रिया: