राज्यको शासकीय स्वरुपको संरचना बारे आज पनि छलफल
Admin / 2014-06-16 03:13:15
नेपाल ब्युरो–असार २, काठमाडौ ।
संविधानसभामा भावी संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको बारेमा आजपनि छलफल जारी छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासदहरुले संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तर्फबाट संविधानसभामा प्रस्तुत तत्कालीन शासकीय स्वस्वरुप निर्धारण समितिको प्रतिवेदनमा भएका सहमति र असहमतिका विषयको निक्र्यौल सम्बन्धी प्रतिवेदनको बारेमा संविधानसभामा हिजोबाट छलफल सुरु भएको हो ।
प्रधानमन्त्रीको कार्यकाल,प्रधानमन्त्री चयन प्रक्रिया लगायतका विषयमा सभासदहरुले फरक फरक धारणा राखेका छन् ।
यता विपक्षी दलका सभासद्हरुले सरकारले संसदमा पेश गरेको नयाँ बजेटका सिद्धान्त नेपाली जनतालाइ निराशा बनाउने खालको भएको बताएका छन् ।
व्यवस्थापिका संसदमा जारी प्रिबजेट माथिको छलफलमा हिजो भाग लिदै सभासद्हरुले नयाँ बजेटका सिद्धान्त परंपरागत भएको आरोप लगाएका छन् । अर्थमन्त्री रामशरण महतले संसदमा पेश गरेको बजेटको सिद्धान्त विश्व बैकका कर्मचारीले गरेको ड्राफ्ट जस्तो रहेको सभासदहरुको टिप्पणी छ ।
सभासद्हरुले कृषि,उर्जा,पर्यटन र तत्काल रोजगारी सृजना गर्ने खालको भौतिक पूर्वाधार विकासलाइ केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् । आजपनि सभासदहरुले प्रि–बजेटका विषयमा आफ्ना धारणा राख्दैछन् । त्यसका लागि व्यवस्थापिका संसदको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: 2014-06-16 03:13:15
प्रतिक्रिया: