अवरुद्व व्यवस्थापिका संसद खुलाउने बारेमा आज पनि प्रमुख दलहरुबीच छलफल
Admin / 2014-06-11 03:06:54
नेपाल ब्युरो–जेठ २८, काठमाडौँ ।
केही दिन यता अवरुद्ध बन्दै आएको व्यवस्थापिका संसद सुचारु गर्न प्रमुख दलहरुले आज पनि कसरत जारी राख्ने भएका छन् ।
एकीकृत माओवादीको अडानका कारण संसद वैठक एक साता भन्दा लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । संसदलाई अवरुद्ध गरेर आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउँने दाउमा एकीकृत माओवादी रहेको छ । तर प्रमुख तीन दल उसको यो घुर्कीबाट रत्तिभर पनि त्रसित बनेको देखिदैन ।
फलस्वरुप बजेट जस्तो संवेदनशील विषयमा छलफल गर्नुपर्ने संसद बैठक ठप्प छ । यसले गर्दा बजेटमा ढिलाइ भई मुलुकका हरेक क्षेत्रमा प्रभावित हुने निश्चित छ ।
त्यसो त एकीकृत माओवादी लगायत दलका कारण अवरुद्व हुँदै आएको व्यवस्थापिका संसद खुलाउने बारेमा दलहरुले प्रयास भने नगरेका होइनन् । त्यस्तै प्रयास स्वरुप आज पनि प्रमुख दलहरुबीच छलफल हुने भएको छ ।
मधेसवादी दलहरुलाई पनि सहभागी गराएर उच्चस्तरीय राजनीतिक समिति गठन गर्नेमा दलहरुबीच सहमति भए पनि समितिको नेतृत्व कस्ले गर्ने भन्नेमा दलहरु बिभाजित भएका छन् । एकीकृत माओवादीले राजनीतिक समितिको नेतृत्व स्थायी रुपमा आफूले पाउनुपर्ने अडान राखेको छ भने काङ्ग्रेस र एमालेले समितिको नेतृत्व आलोपालो रुपमा गर्नुर्पेर्ने बताउँदै आएका छन् ।
काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री सुशील कोइराला बीराटनगरबाट फर्किएपछि आज साँझसम्ममा प्रमुख तीन दलको बैठक बस्ने तयारी भइरहेको बताउनुभयो । कोइराला नेतृत्वमा सरकार गठनगर्नुभन्दा अघि भएको ४ बुँदे सहमति कार्यान्वयन,जथाभावी भएको रकमान्तर बारे अनुसन्धान गर्नुपर्ने लगायतका मागराख्दै एकीकृत माओवादीले व्यवस्थापिका संसद बैठक अवरुद्व गर्दै आएको छ ।
यसैबीच व्यवस्थापिका संसदको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । व्यवस्थापिका संसद सुचारु नहुँदा सरकारले ल्याउन लागेको बजेट बारे छलफल हुन सकेको छैन ।
प्रकाशित मिति: 2014-06-11 03:06:54
प्रतिक्रिया: