भ्रष्टचार कान्डले डिभिजन ३ को आयोजना नेपालबाट खोसियो
Admin / 2014-06-10 11:11:17
काठमाडौं, जेठ २७– विश्व क्रिकेट लिग डिभिजन ३ को आयोजना युगान्डाले गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले मंगलबार अक्टोबर २६ देखि नोभेम्बर २ सम्म युगान्डामा डिभिजन ३ प्रतियोगिता गर्ने घोषणा गरेको हो।
प्रतियोगितामा पछिल्लो संस्करणको विजेता नेपालसहित आयोजक युगान्डा, बर्मुडा, अमेरिका तथा यसै महिना सिंगापुरमा हुने डिभिजन ४ का दुई टोलीले प्रतिस्पर्धा गर्ने छन्। डिभिजन ३ को शीर्ष दुई टोली २०१५ को सुरुआतमा हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्नेछ।
विश्व क्रिकेट लिग च्याम्पियनशिप र अन्तरमहादेशीय कपका लागि डिभिजन २ छनोटको आधार हुने छ। च्याम्पियनशिप र अन्तमहादेशीय कपको खेल तालिका पछि सार्वजनिक गर्ने आइसिसीले जनाएको छ। आइसिसीले डिभिजन ३ को आयोजना स्थल र मिति भने पछि बताउने जनाएको छ।
युगान्डाले पहिलो पटक विश्व क्रिकेट लिग प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि नेपालमा यो प्रतियोगिता हुने लगभग पक्का जस्तै भइसकेको थियो। पहिलो चरणमा आइसिसीले पत्रचारहरु गर्दै आइसिसीको टोली छिट्टै निरीक्षणका लागि नेपाल आउने क्रममा रहेको क्यान स्रोतले जानकारी दिएको थियो ।
तर पछिल्लो घटनाक्रमले नेपालबाट यो प्रतियोगिता आइसिसीले युगान्डा सारेको हो। अघिल्लो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्याल, उपाध्यक्षहरु चतुरबहादुर चन्द र विनोद मैनालिसहित अन्य पदाधिकारीलाई भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको जनाएपछि नेपाली क्रिकेटको सर्वोच्च संस्था धरापमा परेको थियो। पछिल्लो कालमा क्यानको कार्यशैलीमा आइसिसीले असन्तुष्टि जनाएको बताइएको छ।
जनवरीमा न्युजिल्यानडमा भएको एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल डिभिजन ३ मा झरेको थियो। एकदिवसीय विश्वकप छनोटमा युगान्डा पुछारमा रहेको थियो। गत वर्षको मेमा नेपालले बर्मुडामा युगान्डालाई पराजित गरी डिभिजन ३ को उपाधि जित्दा अमेरिका तेस्रो र बर्मुडा चौथो भएको थियो।
नेपालले डिभिजन ३ सँगै डिभिजन २ पनि जितेमा विश्व क्रिकेट लिग च्याम्पियनशिप र अन्तरमहादेशीय कपमा छनोट हुनेछ। डिभिजन २ मा नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडा रहेका छन्। जनवरीको न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा यी टोलीहरु क्रमश पाचौं देखि आठौं भएका थिए।
प्रकाशित मिति: 2014-06-10 11:11:17
प्रतिक्रिया: